जनयुद्धअघि पृथ्वीनारायण शाहको रणनीति पनि अध्ययन भएको थियो : प्रचण्ड
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको राजनीतिक र फौजी रणनीतिलाई अध्ययन गरेर मुलुक परिवर्तनका लागि दशवर्षे सशस्त्र जनयुद्ध सुरु गरिएको बताउनुभएको छ । आरडी प्रभास चटौत र श्रीमती राजलक्ष्मीले लेखेको ‘बेलाको बोली बखतको इतिहास’ नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले भन्नुभयो– “जनयुद्ध सञ्चालनका बेलामा मैले माओ, माक्र्स र लेनिनका पुस्तक मात्र पढेँ भन्ने कतिलाई लाग्न सक्छ तर मैले सबैभन्दा बढी नै पृथ्वीनारायण शाहको राजनीतिक र फौजी रणनीति पढेँ ।” पूर्वप्रधानमन्त्री दाहालले नेपालले कस्तो संविधान कसरी बनाउँछ भनेर विश्व समुदायले हेरिरहेकाले आरोह र अवरोहबीच संविधान बनाउनुपर्ने दायित्व पूरा गर्न दलहरु लागिपरेको बताउनुभयो । नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकरण गरेर अहिलेको आधुनिक नेपाल बनाउन योगदान पु¥याएका शाहको सालिक भत्काएर कस्तो नेपाल बनाउन खोजिएको हो भन्नेमा जनता स्पष्ट नभएकाले दलहरुले आफ्ना क्रियाकलापमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । नेपाली काँग्रेसका नेता रमेश लेखकले दस बर्से जनयुद्धलाई सहज रुपमा शान्ति प्रक्रियामा ल्याइए जस्तै नयाँ संविधानका लागि पनि सबै दल एक जुट हुनुपर्नेमा जोड दिनुभयो । संस्कृतिविद् सत्यमोहन जोशीले बाइसे, चौबीसे र काठमाडौँ उपत्यकाको मात्र इतिहासलाई अझ विस्तृत रुपमा खोज अनुसन्धान गरी राष्ट्रिय इतिहासको लेखन गरिनुपर्ने बताउनुभयो । विमोचित कृतिमाथि समीक्षा गर्दै प्रा डा माधवप्रसाद पोखरेलले १४ आँै शताब्दीदेखिका विषयवस्तुलाई अनुसन्धान गरी लेखिएको पुस्तक नेपालको इतिहासमा एउटा कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकका लेखक चटौतले शाके १३१० देखिका ऐतिहासिक विषयलाई पुस्तकमा उतारिएको जानकारी दिनुभयो । सञ्चारकर्मी आरती चटौतले इतिहास सम्पदा, संस्कृति र भाषाको संरक्षणमा जुट्न आह्वान गर्नुभयो ।