एनआरएन दिवसमा विभिन्न कार्यक्रम गरिँदै
गैरआवासीय नेपाली संघ एनआरएनएको स्थापना दिवसका रुपमा हरेक वर्ष अक्टोबर ११ तारिखलाई एनआएन डेका रुपमा मनाउने गरिएको छ । यस पटक एनआरएन डेमा विवध कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै अन्तर्गत ५ अक्टोबरदेखि १४ अक्टोबरसम्म हरेक दिन विविध गतिविधि राखिएको छ । एनआरएनएका प्रवक्ता मन केसीका अनुसार बिहीबार काठमाडौंको गोकर्ण फोरेष्ट रिसोर्टमा गल्फ प्रतियोगिता आयोजना गरिनेछ भने बिहीबार नै सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोले बगाएको वन साँघु माध्यमिक विद्यालयको निर्माणका लागि स्थलगत अध्ययन गरिनेछ । शुक्रबार बागमती सफाई कार्यक्रम अन्तर्गत बागमती किनारामा एनआरएनले बनाउन लागेको बगैंचाको शिलान्यास गरिनेछ । यस कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल हुनुहुन्छ । यसपछि शुक्रबार नै होटल याक एण्ड यतिमा खुला विश्वविद्यालय, एनआरएनले सञ्चालन गरेका विविध अभियानका बारेमा अन्तरक्रियाहरु आयोजना गरिएको छ । शनिबार एनआरएन दिवसका दिन विहान स्वयम्भूमा पूजापाठ गर्ने कार्यक्रम विहान ७ बजेका निम्ति तय गरिएको छ भने ८ः३० बजे पशुपतिनाथमा सामूहिक दर्शन गर्ने र पूजा गर्ने कार्यक्रम छ । यसपछि प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यमा होटल याक एण्ड यति दरबारमार्गमा औपचारिक कार्यक्रम गरिनेछ । दिउँसो नै रक्तदान कार्यक्रम गर्ने योजना पनि एनआरएनको छ । शनिबार साँझ गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सहभागीहरुको सम्मानमा रात्रीभोजको आयोजना गर्नुहुनेछ । यसपछि पनि विविध अन्तरक्रिया कार्यक्रमहरु हुनेछन् जसमा नेपालमा कसरी लगानी भित्र्याउन सकिन्छ ? देश बाहिर रहेका दोस्रो पुस्ताका नेपालीका निम्ति के गर्न सकिन्छ ? र विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई देशको हितमा कसरी लगाउन सकिन्छ लगायतका विषयमा छलफल गरिने भएको छ ।