सामूहिक बलात्कार गर्ने पाँच पुरुषलाई झुन्ड्याइयो
अफगानिस्तानमा चार महिलालाई सामूहिक बलात्कार गरेको आरोप लागेका पाँच पुरुषलाई उनीहरूमाथि गरिएको अदालती कारवाहीप्रति संयुक्त राष्ट्र सङ्घ तथा मानव अधिकारवादी समूहले विरोध जनाए पनि र नयाँ राष्ट्रपति असरफ गनीलाई उनीहरूलाई दिइएको सजाय कार्यान्वयन नगर्न आग्रह गरिएपनि बुधबार झुन्ड्याएर मृत्युदण्ड दिइएको छ । काबुलको बाहिरी भागमा रहेको पागमानमा भएको क्रूर आक्रमणपछि मुलुकभर उक्त आक्रमणप्रति विरोध जनाइएको थियो भने धेरै अफगान नागरिकले उनीहरूलाई झुन्ड्याउनुपर्ने माग गरेका थिए । पूर्व राष्ट्रपति हमिद करजईले गत साता पदमुक्त हुनुभन्दा केही समय अगाडि उक्त मृत्युदण्डको आदेशमा हस्ताक्षर गर्नुभएको थियो । उपमहान्यायाधीवक्ता रहमातुल्लाह नाजारीले पागमान घटना तथा अन्य अर्को ठूलो अपराधमा दोषी प्रमाणित भएका छ पुरुषलाई आझै अपरान्ह मृत्युदण्ड दिइएको बताउनुभयो । यस विषयमा राष्ट्रपति गनीको कार्यालयबाट कुनै पनि टिप्पणी आएको छैन । उहाँ अगस्त २९ मा शासनमा पुग्नुभएपछि उक्त मृत्युदण्ड नरोक्न उहाँमाथि बलियो सार्वजनिक दबाब परेको थियो । महान्यायाधीवक्ताको कार्यालयका प्रमुख कर्मचारी अत्ता मोहमद नुरीले उक्त कुरालाई पुष्टि गर्नुभयो । यी व्यक्तिहरूलाई काबुल नजिकै पुल–ए–चर्की कारागारमा मृत्युदण्ड दिइएको बताइएको छ । काबुलमा रहनुभएका युरोपेली महासङ्घका राजदूत फ्रान्ज माइकल मेलबिनले यी व्यक्तिहरूलाइ झुण्ड्याएर मृत्युदण्ड दिइएकामा कडा आलोचना गर्नुभयो र राष्ट्रपति गनीले यसमा हस्तक्षेप नगरेको भनी प्रश्न उठाउनुभयो । अगस्त महिनामा यी सशस्त्र समूहका सदस्यले प्रहरीको पोसाक लगाइ पागमानमा विवाहको भोजमा सरिक भई फर्किएका गाडीहरूको समूहलाई रोकेका थिए । यसपछि उनीहरूले पुरुषलाई बाँधी कम्तीमा चार महिलालाई बलात्कार गरी उनीहरूको गहना लुटेका लिए । अदालतको प्रक्रिया केही घण्टासम्म मात्र चलेको, दोषीलाई यातना दिएर साबिती लिइएको र तत्कालीन राष्ट्रपति करजईले उनीहरूलाई मृत्युदण्ड दिनुपर्छ भनी माग गरेको विषयलाई लिएर अदालती कारवाहीमा प्रश्न गरिएको थियो । यी व्यक्तिहरूलाई मृत्युदण्ड दिनुपूर्व संयुक्त राष्ट्र सङ्घको मानवअधिकारका लागि उच्च आयोगले राष्ट्रपति गनीलाई यस अदालती प्रक्रियामा ‘उचित प्रक्रिया’ का पक्षमा गम्भीर प्रश्न उठेकाले यसलाई पुनः अदालतमा पठाइदिन आग्रह गरेको थियो । एमनेस्टीले यस सुनुवाइमा प्रतिरक्षाका वकिलहरूलाई निकै छिटो काम गर्नुपरेको र निकै कम समय प्राप्त भएको बताएको छ । यस घटनामा यी व्यक्तिलाई पक्राउ गर्ने र उनीहरूलाई मृत्युदण्ड दिने कार्यबीच प्रारम्भिक अदालतमा केबल नौ दिनको समय रहेको देखिएको थियो । एमनेस्टीले यस सुनुवाइमा असंगतपना, यातनाको दाबीमा अनुसन्धान नभएको र राजनीतिक हस्तक्षेप भएको जस्तो देखिएको उल्लेख गरेको छ । यस संस्थाले राष्ट्रपति करजई आफैँले सर्वोच्च अदालतलाई यी व्यक्तिलाई मृत्युदण्ड दिन आग्रह गर्नुभएको पनि उल्लेख गरेको छ । यी व्यक्तिलाई दोषी फेला पारिएको थियो भने उनीहरूलाई निर्णय सुनाउँदा त्यसको राष्ट्रिय रूपमा टेलिभिजनमा प्रसारण गरिएको थियो । अदालतबाहिर उनीहरूलाई मृत्युदण्ड दिनुपर्छ भनी भेला आयोजना भएका थिए । इजलासमा काबुल प्रहरी प्रमुख जाहिर जाहिरले यी व्यक्तिलाई झुन्ड्याउनुपर्छ भनी माग गर्दा इजलासभित्रै उहाँको प्रशंसा भएको थियो । तल्लो तहको अदालतको निर्णयलाई पुनरावेदन अदालत तथा सर्वोच्च अदालतले छिटै समर्थन गरेका थिए । ह्युमन राइट्स वाचका फेलिम किनले उचित प्रक्रियालाइ डरलाग्दो रूपले उल्लङ्घन गरेकाले पागमान घटनाको सुनुवाइमा अन्यायको प्रक्रियालाई अझै बल मिलेको उल्लेख गरेका छन् । यस संस्थाले यस मुद्दामा दोषी पहिचान गर्न प्रत्यक्षदर्शीको लाइन लागेको र निकै थोरै प्रमाणका साथ सुनुवाइ आरम्भ भएको उल्लेख गरेको छ । अफगानिस्तानमा सन् २००१ मा तालिवान शासन पतन भएपछि सुधारका कार्य भए पनि अगस्त २३ को बिहान भएको यस हिंसाले अफगानिस्तानमा महिलाले भोगेको हिंसालाई प्रदर्शन गर्ने बताइएको छ । अफगानिस्तानमा अर्बौँ अमेरिकी डलरको अन्तर्राष्ट्रिय विकास प्रयासमा महिलालाई केन्द्रमा राखिए पनि उनीहरूले नियमित रूपमा भेदभाव, दुव्र्यवहार र हिंसा भोग्ने गरेको बताइएको छ । तालिवानको पालामा सुन्नी इस्लामी कानुनको समयमा महिलालाई पूर्ण रूपमा ढाकिने बुर्का लगाउन बाध्य बनाइन्थ्यो, उनीहरूलाई नोकरी गर्न प्रतिबन्ध लगाइएको थियो र पुरुष संरक्षक नलिइकन घरबाहिर जान प्रतिबन्ध लगाइएको थियो । उक्त सामूहिक बलात्कारको विरोधमा व्यापक सार्वजनिक प्रदर्शन भएका थिए । यस्तै अवस्था आमसञ्चार र इन्टरनेटमा पनि देखिएका थिए । सन् २०१२ मा भारतको नयाँ दिल्लीमा एक बसमा एक छात्रामाथि आक्रमण भएपछि यस्तै अवस्था देखिएको थियो ।