नोबेल शान्ति पुरस्कार मलाला र सत्यार्थीलाई, दक्षिण एशियामा खुशीको प्रतिक्रिया
यस वर्षको नोबेल शान्ति पुरस्कार बालअधिकारका लागि अभियान सञ्चालक पाकिस्तानकी तालिवानबाट टाउकोमा गोली हानिदा पनि बाँच्न पुग्नुभएका १७ वर्षीया मलाला युसुफजई तथा भारतका कैलाश सत्यार्थीले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ ।
नोबेल पुरस्कार प्राप्त गर्ने सबैभन्दा कम उमेरका मलालाले बेलायतको बरमिनघमस्थित उनको कक्षामा उक्त समाचार सुन्नुभएको छ । यहाँ उहाँलाई दुई वर्ष अगाडि जीवनदायक उपचारका लागि पाकिस्तानबाट ल्याइएको थियो । नर्वेको नोबेल समितिले बालबालिका तथा युवामाथि दमनविरुद्ध तथा सबै बालबालिकाको शिक्षाको अधिकारका लागि उहाँहरूका सङ्घर्षका लागि यी दुई व्यक्तित्वलाई छनौट गरिएको जानकारी दिएको छ । उहाँहरूले ११ लाख अमेरिकी डलर (आठ लाख ७४ हजार युरो) मा साझेदारी गर्नुहुनेछ । मलालाले आफ्नो कठोर मुसलमान गृहक्षेत्रमा बालिकाको शिक्षाका लागि वर्षौँसम्म सङ्घर्ष गर्नुभएको थियो भने सन् २०१२ मा तालिवानले गोली प्रहार गरेपछि उहाँ विश्वव्यापी ख्यातिमा आउनुभएको थियो । उक्त समयमा मलाला चढ्नुभएको विद्यालयको बसमा आएर तालिवान बन्दुकधारीले ‘मलाला को हो ?’ भनी सोधेरै उहाँको टाउकोमा गोली हानेका थिए । नोबेल समितिले उहाँको अभियान सबैभन्दा डरलाग्दो परिस्थितिमा सञ्चालन भएको जानकारी दिएको छ । समितिले उहाँ आफ्नो बहादुरीपूर्वक सङ्घर्षबाट बालिकाको शिक्षाको अधिकारका लागि प्रमुख प्रवक्ता बन्नुभएको उल्लेख गरेको छ । यति कम उमेरका विजेताको छनौट वास्तवमै सबैको ध्यानाकर्षणको विषय हो भने यस वर्षको पुरस्कारका लागि छनौट भएका व्यक्तित्व हाल प्रतिद्वन्द्वी छिमेकी भारत तथा पाकिस्तानका नागरिक हुनु अर्को असामान्य घटना बनेको छ । गत केही दिनमा विवादास्पद् कश्मीर क्षेत्रमा १७ नागरिकको मृत्यु भएको छ र यसलाई केही दशकमा यहाँ सबैभन्दा नराम्रो सङ्घर्षको रूपमा लिइएको छ । मनेस्टी इन्टरनेरनलका महासचिव सलिल सेट्टीले विजेताको यस छनौटले व्यक्तिको उमेर, लिङ्ग, मुलुक वा क्षेत्रको अर्थ नभएको तर विषयवस्तु महत्वपूर्ण भएको देखिएको बताउनुभयो । विजेताहरू डिसेम्बर १० का दिन ओस्लोमा उपस्थित भई पुरस्कार स्वीकार गर्नुहुने अनुमान गरिएको छ । सत्यार्थीले सन् १९८० को दशकमा घरेलु गलैँचा उद्योगमा बालश्रमविरुद्ध सङ्घर्ष गर्न उपभोक्ता आन्दोलन आरम्भ गर्नुभएको थियो । उहाँले नोबेल पुरस्कारले बालअधिकारका लागि आफ्नो सङ्र्घलाई पहिचान दिएकाले आफू खुसी भएको बताउनुभयो । सामान्यतया प्रचारमा आउन नचाहने ६० वर्षीय कार्यकर्ता सत्यार्थी ग्लोबल मार्च एगेन्स्ट चाइल्ड लेबोर नामक संस्थाका प्रमुख हुनुहुन्छ । यस संस्थामा १४० मुलुकका करिब दुई हजार सामाजिक संस्था तथा सङ्गठन आवद्ध छन् । व्यापारी, भूमिपति तथा अन्यले दास बन्न बाध्य बनाएका लाखौँ बालबालिकालाई मुक्त गराएको भनी उहाँलाई श्रेय दिइएको छ । उहाँले भारतीय टेलिभिजनमा भारतमा जन्मेको केही कुरा विश्वव्यापी भएको र अब आफूहरूसँग बालश्रमविरुद्ध विश्वव्यापी अभियान भएको बताउनुभयो । पाकिस्तानमा प्रधानमन्त्री नवाज सरिफले मलाला आफ्नो मुलकका लागि गौरवको विषय भएको बताउनुभयो । प्रधानमन्त्री सरिफले एक विज्ञप्ति प्रकाशन गर्नुभई मलालाले आफ्ना जनतालाई गौरवान्वित बनाएको, उहाँको प्राप्ति अतुलनीय भएको र विश्वका बालबालिकाले उहाँको सङ्घर्ष र दृढताबाट केही सिक्नुपर्ने बताउनुभयो । संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्त जेइद राद अल हुसेनले विजेताहरू मानव अधिकार संरक्षणमा अग्रपङ्क्तिमा रहनुभएको र उहाँहरूले शक्तिशाली शत्रुमाझ ठूलो सहास देखाउनुभएको बताउनुभयो । संयुक्त राष्ट्र सङ्घको शैक्षिक संस्था युनेस्कोका महानिर्देशक इरिना बोकोभाले शान्तिपूर्ण तथा दिगो समाज विकासका लागि शिक्षाको महत्वका विषयमा यस पुरस्कारले ठूलो सन्देश दिएको बताउँदै दुवै विजेताको प्रशंसा गर्नुभयो । बेलायतका पूर्व प्रधानमन्त्री तथा संयुक्त राष्ट्र सङ्घका विश्वव्यापी शिक्षाका प्रतिनिधि गोर्डन ब्राउनले उहाँहरू बालबालिकाका क्षेत्रमा ठूला अभियानकर्ता भएको बताउनुभयो । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलोँले बालअधिकारका लागि मलालाको व्यापक सहास तथा सत्यार्थीको अथक प्रयासको प्रशंसा गर्नुभयो । नर्वेको नोबेल समितिका अध्यक्ष थोर्बजोर्न जगल्यान्डले मलालाको युवापना पुरस्कार प्रदान गर्ने कुनै आधार नभएको बताउनुभयो । उहाँले आफूहरूले बालश्रमविरुद्ध उभिएर बालअधिकारका लागि काम गरेका एक युवा तथा एक प्रौढको कामलाई प्रकाश पार्न चाहेको बताउनुभयो । उहाँले मलालाले अन्य अनेकौँ पुरस्कार प्राप्त गरेको कुरालाई पनि ध्यानमा राखेको तर कट्टरपन्थीविरुद्धको युद्धमा युवामा आसा जगाउनु सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभयो । मृत्युसँगको सङ्घर्षपछि मलाला अन्तर्राष्ट्रिय बहादुर व्यक्तित्व बन्नुभएको छ । सन् २०१३ मा उहाँले संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्दा सबैले उठेर उहाँप्रति सम्मान व्यक्त गरेका थिए । त्यसबखत पनि उनले आफूलाई कहिल्यै चुप लगाउन नसकिने बताउनुभएको थियो ।