अन्तिमसम्म सहमतिको पहल, नभए प्रक्रियामा : बामदेव गौतम


उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सहमतिबाट नभए प्रक्रियामा गएर पनि निर्धारित मितिमै संविधान जारी गर्ने बताउनुभएको छ । सिरहाको सुखिपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमतिको आधारमा संविधान जारी गर्ने कुरा अहिले जोडतोडका साथ उठेकाले अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए प्रक्रियामा गएरै भए पनि संविधान जारी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश सङ्क्रमणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अन्त्य गर्न सहमतिको विशेष प्रयास भइरहेको छ, अन्तिम समयसम्म पनि सहमति हुन नसके प्रक्रियामा गएर संविधान जारी हुन्छ ।’ ङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताले सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा लिएको बताउँदै उहाँले यसलाई गुम्न नदिन माघ ८ गते प्रक्रियाको आधारमा भएपनि संविधान जारी गरेरै छाड्ने बताउनुभयो । जातीय आधारमा सङ्घीयताको कुरा केही दलले उठाए पनि नेपालको सन्दर्भमा त्यो सम्भव नभएको बताउँदै उहाँले सबै जाति सबै ठाउँमा बसोबास गरिरहेकाले जातीय आधारमा संविधान जारी हुन नसक्ने उहाँको भनाइ थियो । उहाँले दुई प्रदेश मधेसमा र पाँच प्रदेश हिमाल, पहाड र तराई छुनेगरी बनाउन उपयुक्त हुने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?