प्रधानमन्त्रीको आलोचना, सुकम्बासी आयोग विघटनको माग


नेपाली काँग्रेसले एकलौटी ढङ्गबाट काम कारबाही भएको भन्दै सुकुम्वासी आयोग विघटन सम्बन्धमा पुनःविचार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सुकुम्बासी समस्या समाधान आयोगबाट एकलौटी, एकतर्फी र बेथितीपूर्ण ढङ्गबाट जग्गा वितरणलगायत काम भएको भन्दै त्यसको विघटनकोे माग गरेको हो । “एकलौटीरूपमा जग्गा वितरण गरिएकाले आयोगको औचित्यमाथि प्रश्न उठाएर आयोगको तत्काल विघटनको माग बैठकमा बोल्ने अधिकांश सदस्यले राखेका कारण त्यस मागप्रति पुनःविचार गर्न बैठकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो,” बैठकपछि नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले भन्नुभयो । साथै बैठकले संविधानका लागि अहिलेसम्म दलहरूबीच सहमति जुट्न नसकेको प्रमुख विवादित विषयमा छलफलका लागि पाँच पृष्ठको अवधारणापत्र बैठकमा प्रस्तुत गरिएकामा त्यसमा आवश्यक परिमार्जन गरी  अन्य दलहरूसँगको छलफल अघि बढाउने निर्णय पनि गरेको छ । सहमहामन्त्री खड्काका अनुसार संविधान निर्माणका विवादित विषयलाई दलहरूबीच सहमति कायम गरी संविधान लेखनलाई निष्कर्षमा पु¥याउन बैठकका वक्ताहरूको जोड दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?