बाढीले १९ अर्बको क्षति गराएको प्रतिवेदन सार्वजनिक
गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भूगोल तथा नदी तट क्षेत्रमा गएको बाढी र पहिरोका कारण करिब रु १९ अर्ब क्षति भएको जनाएको छ । सिन्धुपाल्चोकको जुरे, सुर्खेत, बर्दियालगायतका स्थानमा बाढी पहिरो गएको थियो र यो ७० वर्षयताकै ठूलो विपत्ती मानिएको छ । प्रकोप पूर्व तयारी सञ्जालले आयोजना गरेको अन्तक्र्रियामा गृह मन्त्रालयका सहसचिव यादवप्रसाद कोइरालाले यो विपत्तीमा ५०० भन्दा बढीको मृत्यु भएको तथा दुई लाख व्यक्ति विस्थापित भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित स्थानमा उद्धार तथा सहयोगको काम भइरहेको र मन्त्रालयले रु ३० करोड त्यसतर्फ पठाइसकेको छ । बाढी पहिरोका कारण ११ प्रतिशत कुल गार्हस्थ उत्पादनमा असर पर्ने उहाँको अनुमान छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष डा. गौरीशङ्करलाल दासले प्राकृतिक विपद्बाट हुने धनजनको क्षति न्यून गर्न प्रयास अगाडि देखि नै हुनुपर्ने बताउनुभयो । प्रकोप पूर्व तयारी सञ्जालका अध्यक्ष डा विशालनाथ उप्रेतीले विपद् आइलागेपछि उद्धार तथा राहत वितरणका लागि सम्बन्धित पक्षसँग समन्वय र सहकार्य हुन नसक्दा पीडितमध्ये कसैले धेरै र कसैले केही पनि सामग्री प्राप्त गर्न नसक्ने अवस्था रहेको औँल्याउनुभयो । प्रत्येक वर्ष अक्टोवर १३ मा अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाइने गरिन्छ ।