कम प्रदेश बनाउने पक्षमा काँग्रेस रहेको सभाषद् राजन केसीको भनाई
सिड्नीमा मेलमिलाप चियापान कार्यक्रमको आयोजना
जनसम्पर्क समिति अष्ट्रेलियाको निर्वाचन तयारी समितिको आयोजनामा सिड्नीमा आइतबार अन्तरक्रिया तथा जलपान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभाषद् राजन केसीले नेपाली काँग्रेस सकेसम्म कम प्रदेश भएको संघीयताको पक्षमा रहेको बताउनुभयो । अहिलेको ढिलाई, खिचातानी पनि सकेसम्म धेरै प्रदेश बनाउन चाहने र कम बनाउन चाहनेकाबीचमा भएको उहाँको भनाई थियो । सकेसम्म छिटो र तोकिएकै मितिमा संविधान दिनु यतिबेलाको आवश्यकता भएको भन्दै नेता केसीले सहमतिका आधारमा संविधान बन्छ भन्न नसकिने बताउनुभयो । उहाँले सहमति गर्दा राप्रपा नेपाललाई के गर्ने भनी प्रश्न पनि गर्नुभयो । कार्यक्रममा अर्का सभाषद केशव बुढाथोकीले ईतिहासदेखि नै नेतृत्वकर्ताको भूमिकामा रहेको नेपाली काँग्रेसले यस पटक पनि संविधान लेखनमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर नै जनताले ठूलो दल बनाएको बताउनुभयो । विभिन्न वक्ताहरुले संविधान लेख्नुपर्ने सभाषद्हरु विदेश घुम्दै हिंडेको भनी आलोचना गरेकोमा उहाँले आपूmहरु व्यक्तिगत काममा परिवारसँग चाडवाड मान्न आएको स्पष्टीकरण दिनुभएको थियो । कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अष्ट्रेलियाको निर्वाचन तयारी समितिका संयोजक छिरिंग तेन्जी लामाले वीपी कोइरालाको मेलमिलापको नीतिलाई अनुशरण गर्दै छिट्टै नै जनसम्पर्क समिति अष्ट्रेलियामा सहमतिका साथ नयाँ कार्यसमिति निर्माण हुनसक्ने अवस्था आओस् भन्ने कामना गर्नुभयो । यस्तै कार्यक्रममा एनआरएनए आईसीसी संरक्षक ईन्द्राबन, न्यू साउथ वेल्सका लागि अवैतनिक महावाणिज्यदूत दीपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, आदिवासी जनजाति मञ्च अष्ट्र्रेलिया निन्फाका अध्यक्ष गणेश तामांग लगायतले मेलमिलापको नीतिलाई व्यवहारमा उतार्ने सफलता नेपाली काँग्रेसलाई मिल्यो भने यो अष्ट्रेलियामा रहने नेपाली समूदायलाई समेत लाभ पुग्ने बताउनुभएको थियो ।