सभाषदले पारे खेलकुद मन्त्रीलाई र्याख र्याख, किन लुके खेलाडी, किन आएन पदक ?
व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले हालै दक्षिण कोरियामा सम्पन्न एसियाडमा नेपालको तर्फबाट सहभागी खेलाडी तथा प्रशिक्षक लुकेको भन्ने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समितिको सिंहदरबारमा बसेको बैठकले इचोन सहरमा सम्पन्न १७ औँ एसियाडमा नेपालको प्रस्तुति अत्यन्तै फितलो भएको र खेलाडीभन्दा सरोकार नै नभएका व्यक्तिको भीड मात्रै गएको, प्रशिक्षकका नाममा पुगेको व्यक्तिसमेत उतै लुकेको भन्दै सत्यतथ्य पेस गर्न मन्त्रालयलाई आग्रह गरेको हो । बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्को लापर्बाहीका कारण नेपालको प्रस्तुति फितलो भएको, राष्ट्रिय स्रोतको दुरुपयोग गर्दै खेलसँग असम्बन्धित व्यक्तिलाई इचोन लगिएको भन्दै सो प्रकरणमा दोषी देखिएकामाथि कारबाही गर्न समेत निर्देशन दिएको हो । अर्थमन्त्रालयबाट थप रकम निकासा गरेर नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा (माओवादी)का सभासद्लाई बिना प्रयोजन दक्षिण कोरियाको भ्रमण गराएको सांसदहरूको आरोप थियो । एसियाडमा नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र अन्य सहयोगी गरी कुल ३१७ जना सहभागी भएका थिए । नेपालले २६ खेलमा सहभागिता जनाए पनि कुनै पनि खेलमा पदक प्राप्त गर्न सकेन । सरकारी टोलीभन्दा बाहिरबाट व्यक्तिगत प्रयासमा इचोन पुगेकी विमला तामाङले कराते एकल कातामा मात्रै नेपाललाई कास्यपदक दिलाएकी थिइन् । अन्य खेलमा नेपाल रित्तो हात स्वदेश फर्कनुको पछाडि मन्त्रालय, परिषद् र प्रशिक्षक जिम्मेवार रहेको भन्दै विधायकहरूले दक्षिण कोरियामा खेलाडी र प्रशिक्षक लुक्नुको कारण के हो, नेपालको बेइज्जत हुँदासमेत किन ध्यान दिइएन भन्ने प्रश्न गर्नुभएको थियो । एसियाडको तयारीका लागि सरकारले रु दस करोड खर्च गरे पनि उपलब्धि शून्य हुनु, तयारीको क्रममा नेपालले १९ मात्रै खेलमा सहभागी हुने भने पनि बिना तयारी पछि २६ खेलमा सहभागी गराउनु, उक्त प्रतियोगितामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकका नाममा काटिएको हवाई टिकटमा समेत अनियमितता भएको उहाँहरूले बताउनुभएको थियो । सांसद्हरूले दक्षिण कोरियामा छजना खेलाडी र प्रशिक्षक लुकेको दाबी गर्दै खेलकुद मन्त्रीको ध्यानाकर्षण गराउनुभएपछि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कोरियामा चार जना मात्रै लुकेको र उनीहरूको खोजी भइरहेको बताउनुभएको थियो । सांसद धनराज गुरुङले उसुका प्रशिक्षकको रुपमा गएका नवराज लामा र बिगु तामाङ किन कोरियामा लुके, उनीहरूलाई कसले लगेको हो भन्ने प्रश्न गर्दै लेखा समितिलाई नढाट्न आग्रह गर्नुभएको थियो । उक्त प्रतियोगितामा सहभागी हुन गएका खेलाडी र प्रशिक्षक गरी चार जना लुकेको र उनीहरूलाई दक्षिण कोरियाली प्रहरीले समेत खोजी गरिरहेको बैठकमा जानकारी गराइएको थियो । बैठकमा विकास लम्साल, दीपक बोहोरा, मीना पुन, रामहरि खतिवडा, भरत शाह, टेकबहादुर बस्नेतलगायतले एसियाड प्रतियोगितामा नेपालको प्रस्तुति फितलो भएको भन्दै मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।
हामीले ध्यान दिन सकेनौं ः पौडेल
समितिको बैठकमा उपस्थित युवा तथा खेलकुद मन्त्री पौडेलले एसियाडको तयारीदेखि खेलाडी छनोट र प्रशिक्षणलगायतका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सदनको महिला, बालबालिका तथा समाज कल्याण समितिको निर्देशनअनुसार पाँच सांसदलाई कोरिया पठाइएको जानकारी गराउँदै उहाँले प्रतियोगिताको नाममा कोरिया पुगेर लुकेका खेलाडी तथा प्रशिक्षकलाई कूटनीतिक तवरबाट फिर्ता ल्याइने विश्वास दिलाउनुभयो । नेपालले आशा गरेको कराते, तेक्वान्दो, मार्सल आर्टमा कमजोर प्रस्तुति हुनुको पछाडि खेलाडीको कुनै पनि दोष नरहेको भन्दै उहाँले आन्तरिक विवाद नै प्रमुख कारण रहेको बताउनुभयो । सरकारी टोलीमा सामेल नभए पनि विमला तामाङको प्रस्तुतिले मुलुकको साख जोगाएकामा खुसी व्यक्त गर्दै मन्त्री पौडेलले सरकारको तर्फबाट उहाँलाई उचित सम्मान गरिने बताउनुभयो । एन्फामाथि लागेको भ्रष्टाचारको अभियोगमाथि मन्त्रालयको तर्फबाट उचित छानबिन गरिने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।