सानो विमान मेलबर्नमा दुर्घटनाग्रस्त, पाईलटको मृत्यु, दुई घरमा क्षति
मेलबर्नको दक्षिणपूर्वी क्षेत्रमा एउटा अल्ट्रालाईट हवाईजहाज दुर्घटना हुँदा पाईलटको घटनास्थलमै मृत्यु भएको छ । एकजना यात्री मात्र रहेको जहाजमा करिब ७० वर्षीय पुरुष थिए । दुर्घटनामा थप मानवीय क्षती नभए पनि दुईवटा घरमा भने क्षति पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार कालो धुँवाको मुस्लोसहित तल झरेको हवाईजहाज ठूलो आवाजका साथ दुर्घटना भएको थियो र आगो लागेको थियो । कालो मुस्लो देखेको उनीहरुले बताएका छन् । दुर्घटनाको बारेमा अष्ट्रेलियन यातायात सुरक्षा व्यूरोले अनुसन्धान गरिरहेको छ । मोरब्बीन एयरपोर्टबाट उडेको विमान त्यही फर्कनुपर्ने थियो । अचानक विमानमा विद्युत प्रवाह बन्द भएपछि दुर्घटना हुन पुगेको अनुमान छ । पाईलटले घना क्षेत्रभन्दा टाढा विमानलाई लैजान खोजेको उद्धार अधिकारीहरुले अनुमान गरेका छन् ।