सार्क राष्ट्रप्रमुखहरु रिट्रिटमा धुलिखेल बस्ने, तयारी सुरु


दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेल ल्याउने भएपछि यहाँ तयारी सुरु भएको छ । धुलिखेल नगरपालिकाको वडा नं १ स्थित द्वारिकाज हिमालयन साङ्ग्रिला होटल छनोट गरेर त्यहाँको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलताका बारेमा जानकारी लिन आज परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीको नेतृत्वमा १५ सदस्यीय सरकारी टोली धुलिखेल आएका छन् । सो टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका उच्च पदस्थ अधिकारीसमेत सहभागी भएको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो । टोलीसँग स्थानीय प्रशासन र धुलिखेल नगरपालिकाले समेत समन्वय गरेर काम गर्ने छन् । सहायक प्रजिअ शर्माका अनुसार अहिले सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई रिट्रिटका लागि धुलिखेल ल्याउन रिर्सोटको छतमा एउटा र धुलिखेल नगरपालिकाको जमिनमा हेलिकोप्टर राख्नका लागि दुई वटा हेलिप्याडसमेत निर्माण गरिने छ । यहाँको बस्ने ठाउँ, कोठा, भौगोलिक जटिलता र सुरक्षा संवेदनशीलताका बारेमा जानकारी लिन उहाँहरू धुलिखेल आउनुभएको हो सहायक प्रजिअ शर्माले भन्नुभयो । शिखर सम्मेलन उद्घाटन पछि राष्ट्र एवम् सरकार प्रमुखलाई रिट्रिटमा लैजाने र सम्भव भएसम्म दुई पक्षीय वार्ताको वातावरण तय गरिदिने प्रचलन छ । सन् २००२ को ११ औँ शिखर सम्मेलनमा नगरकोटमा रिट्रिट दिने भनिए पनि सफल भएको थिएन । सरकारले आगामी मङ्सिरको १० र ११ गते १८ औँ सार्क शिखर सम्मेलन काठमाडौँमा आयोजना गर्न लागेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?