संविधान लेख्ने हतारो, सहमति जुटाउन प्रचण्डको दौडधूप


राजनीतिक गतिरोध हटाउन केही दिनअघि मात्र प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिअनुसार गठित ‘राजनीतिक समिति’को संयोजक भएपछि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलबीच समझदारी जुटाउन भेटघाटलाई तीव्रता दिनुभएको छ । शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गर्ने र राजनीतिक दलका बीच समझदारी निर्माण गर्ने क्षेत्राधिकार तोकिएको उक्त समितिको पहिलो बैठकलगत्तै संयोजक दाहालले आज एकै दिनमा विभिन्न दलका चार शीर्ष नेतासँग भेटेर संविधान निर्माणमा देखिएका असहमतिका विषयमा सहमति जुटाउने प्रयासको थालनी गर्नुभएको छ ।संयोजक दाहालले बुधबार बिहान नेपाली काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । संयोजक भएपछि आफूले समितिको प्रमुख जिम्मेवारीमध्ये राजनीतिक दलबीच सहमझदारी जुटाउन सहयोग गर्नका लागि प्रमुख नेतासँग अन्तक्र्रिया गरेर समझदारी बनाउने कार्यलाई तीव्रता दिएको एमाओवादीका अध्यक्ष दाहालले बताउनुभयो । “संविधानका विवादित विषयमा सहमति गरी संविधानसभालाई प्रतिवेदन बुझाउने एक दिनको म्याद मात्र बाँकी रहेको र निर्धारित आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न दलबीच सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफललाई तीव्रता दिएको छु” दाहालले भन्नुभयो । एमाले अध्यक्ष ओलीलाई उहाँको संसदीय दलको कार्यालयमा भेटेपछि संयोजक दाहालले सञ्चारकर्मीलाई भन्नुभयो– “मलाई के आशा छ भने आजभोलिसम्म दलहरूबीचको समझदारीको तह अर्काे ठाउँमा पुगेर संविधान निर्माणमा सहजता आउने छ ।” विवादित विषयमा कहिले सहमति हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासमा संयोजक दाहालले भन्नुभयो–“शासकीय स्वरुप र निर्वाचन प्रणालीलगायत विषयमा विगतमा पनि सहमति भएको र हाल पनि सहमति हुन्छ तर अहिलेको मुख्य समस्या भनेको सङ्घीयतामा नै हो त्यसमा सहमति जुटाउन साझा अवधारणा खोज्नैपर्छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?