थारु सम्मेलनमा पुगेर प्रधानमन्त्रीले भने, संविधान माघ ८ मै आउँछ
प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रले सबैको अधिकार, कला, धर्म र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ । थारु कल्याणकारी सभाको २१औँ महाधिवेशनको झापा बिर्तामोडमा उद्घाटन गर्दै उहाँले प्रजातान्त्रिक व्यवस्थामा विचार र विज्ञान दुबैको विकास हुने बताउनुभयो । उहाँले तत्कालीन माओवादीसँग भएको बाह्रबुँदे सम्झौतापछि मुलुकमा शान्ति प्रक्रिया प्रारम्भ भएको उल्लेख गर्दै निराशा र आशङ्का गर्ने कार्यले जनतामा भ्रम फैलिन्छ भन्नुभयो । प्रधानमन्त्री कोइरालाले राजनीतिक स्थायित्व बनाएर सङ्गठितरुपमा अघि बढ्न सबैसँग आग्रह गर्नुभयो । नयाँ संविधान माघ ८ मै जारी हुने दाबी गर्दै उहाँले बृहत् राजनीतिक सभालाई नेकपा (माओवादी)लगायतको समूहले बहिस्कार गरेर गल्ती गरेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले उपलब्ध सबै स्रोत र सम्भावनालाई परिचालन गरेर मुलुकलाई विकासको मार्गमा उन्मुख गर्ने दृढता पनि प्रकट गर्नुभयो । कृषि, पर्यटन र जलस्रोतमा लगानी बढाउन सरकारले वातावरण तयार गरेको उहाँको भनाइ थियो । उहाँले नयाँ संविधान जारी गर्नुको विकल्प नभएकाले केही विषयमा रहेको मतभिन्नतालाई सहमति, सहकार्य र छलफल गरेर टुङ्गो लगाउने बताउनुभयो । सो कार्यक्रममा थारु नेता राजकुमार लेखीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले हृदय चौधरीद्वारा लिखित थारु भाषाको दोस्रो महाकाव्यको लोकार्पण पनि गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारी सभा झापाका सभापति कालीलाल चौधरीको हालै भएको निधनप्रति दुःख प्रकट गर्नुभयो । सम्मेलनमा २४ जिल्लाका पर्यवेक्षक र प्रतिनिधि सहभागी छन् । सम्मेलन तीन दिनसम्म चल्नेछ ।