नेपालभरको मौसममा सुधार, हुदहुद आँधीको प्रभाव हटेपछि बुधबार मध्यान्हबाटै मौसम घमाइलो
सामुद्रिक आँधीको प्रभावले मुलुकभर सिर्जित प्रतिकूल मौसममा बुधबार मध्यान्हबाट पूर्ण रुपमा सुधार आएको छ । पूर्वी बङ्गालको खाडीबाट फैलिएको हुदहुद नामक सामुद्रिक आँधीका कारण सोमबार र मङ्गलबार मुलुकभर पानी परेको थियो । सामुद्रिक आँधीको प्रभाव हटेको र आज मध्याह्नदेखि मौसममा पूर्ण रुपमा सुधार आएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिमका केही पहाडी भेगमा बिहीबारबाट मौसम सफा हुनेछ । दुईदिनको वर्षाले तापक्रम घटेको र जाडोयाम पनि सुरु भएकाले काठमाडौँ उपत्यका, सुर्खेत उपत्यकालगायतका स्थानमा चिसो बढ्ने मौसमविद् पौडेलले बताउनुभयो । काठमाडौँ उपत्यकाको बुधबारको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।