मुस्ताङको थोराङ्ला भन्ज्याङ क्षेत्रको हिमपहिरोमा पुरिएका नौको शव भेटियो
हिमपहिरोमा परी मृत्यु भएकामध्ये थप नौजनाको शव आज मुस्ताङको थोराङ्ला भन्ज्याङ क्षेत्रमा भेटिएको छ । उद्धारका क्रममा भेटिएका शवमध्ये चारजना नेपाली र तीन जना विदेशी नागरिक रहेका छन् । दुईजना विदेशी नागरिकको शव हिँउले धेरै पुरिएका कारण हिँउबाट निकाल्न कठिन भइराखेको छ ती सातवटै शव नेपाली सेनाको हेलिकोप्टरले यहाँ (काठमाडौँ) ल्याइपु¥याइएको नेपाली सेनाले जानकारी दिएको छ । यही असोज २६, २७, २८ तथा २९ गते अकस्मातरुपमा मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा हिमआँधी तथा हिमपहिरो आएको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा ट्रेकिङ एजेन्ट्स एसोसिएसन (टान)को प्रारम्भिक अनुमानअनुसार सो घटनामा परी करिब एक सयजना विदेशी तथा स्वदेशी नागरिक हराइरहेका छन् । हिमपहिरोबाट सबैभन्दा बढी पदयात्राका लागि विश्वविख्यात थोरोङ्ला भन्ज्याङ, तिलिचो ताल, नार र फू, धौलागिरि आधारशिविर, लार्केला भन्ज्याङ, मनास्लु क्षेत्र र मेरापिक क्षेत्र प्रभावित हुन पुगेको थियो । घटनास्थलमा भइरहेको उद्धार तथा खोजकार्यका बारेमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्य, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसहित सांसद टोलीले सो क्षेत्रमा पुगी जानकारी लिनुभएको छ । नेपाली सेनाका सहायक प्रवक्ता महासेनानी निरञ्जन श्रेष्ठले हिमपहिरोबाट बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्य तीब्र गतिमा भइराखेको जानकारी दिनुभयो । हाल उद्धारका लागि नेपाली सेनाका स्काइट्रक (सानो जहाज) दुई, श्री एयरलाइन्स एक, सिम्रिक एयरका दुई गरी पाँच हेलिकोप्टर परिचालन भइराखेको छ । साथै, थप उद्धारका लागि थप पाँचवटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन पर्यटन विभागबाट एकजना निर्देशक, टान, हानका प्रतिनिधि समावेश गरी टोली पनि सो क्षेत्रमा बिहीबार परिचालन गरिएको थियो । त्यसैगरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै आपत्कालीन नियन्त्रण केन्द्र स्थापना गरी बिहीबार बिहान ६ बजेदेखि काम सुरु भएको थियो । हालसम्म टानका अनुसार हिमपहिरो परी मृत्यु भएकामध्ये २९ जनाको शव यहाँ ल्याइएको छ । टानका अध्यक्ष रमेश धमलाले टानका तर्फबाट सो क्षेत्रमा उद्धार तथा खोजीकार्य तीब्ररुपमा भइराखेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार मुस्ताङमा हिमपातका कारण ज्यान गुमाउनेको विवरण तल उल्लेख गरिएको छ ।
सि.न. नामथर देश लिङ्ग मृत्यु मिति
१. नाडाभ इजरायल पुरुष २०७१।६।२९ थोराङ
२. रोबर्ट डर्कज पोल्यान्ड पुरुष २०७१।६।२९ थोराङ
३. ल्युल्सजान्तोनाज पोल्यान्ड पुरुष २०७१।६।२९ थोराङ
४ पासाङ नेपाल पुरुष २०७१।६।२९ थोराङ
५. विष्णु बुढामगर नेपाल पुरुष २०७१।६।२९ झैतेमा
६. अग्नि मकासा पोल्यान्ड महिला २०७१।६।३० थोराङ
७. आगमा लुरिआ इजरायल पुरुष २०७१।६।३० थोराङ
८. तेमार रिआइ इजरायल महिला २०७१।६।३० थोराङ
९. अजय भन्ने नेपाली मनाङ चामेको भनिएको पुरुष २०७१।६।३० थोराङ