शान्ति सम्झौताको हस्ताक्षरकर्ता शक्तिलाई बाहेक नगर्न प्रचण्डको आग्रह


एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रियालाई सहजतासाथ अगाडि बढाउन विगतको सहमति तथा सम्झौतालाई मनन गर्नुपर्ने बताउनुभएको छ । सिराहा–काठमाडौँ सङ्घीय गणतान्त्रिक मञ्चले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बाह्रबुँदे सहमति, अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने हो भने संविधान लेखन प्रक्रिया सहज हुने बताउनुभएको हो । आफ्नो पार्टी सहमतिको आधारमा नै राजनीतिक सङ्क्रमणलाई अन्त्य गर्ने पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले शान्ति सम्झौताको हस्ताक्षरकर्ता शक्तिलाई बाहेक गरिए त्यसको परिणाम नकारात्मक हुनेछ भन्नुभयो । सबै वर्ग तथा क्षेत्रलाई एकताको सुत्रमा बाँध्ने उपयुक्त माध्यम राज्य पुनःसंरचना भएपनि अधिकार दिने पक्षमा ठूला दल नरहेको आरोप लगाउनुभयो । कार्यक्रममा सिराहाबाट काठमाडौँमा आई विभिन्न पेसामा सङ्लग्न व्यक्तिहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?