काँग्रेसलाई उत्तेजना नदेखाउन मन्त्री बस्नेतको आग्रह, १० वर्ष अझै सँगै हिंड्नुपर्ने
उद्योग मन्त्री महेश बस्नेतले सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसलाई सरकारको उन्माद एवम् उत्तेजना नदेखाउन आग्रह गर्नुभएको छ । नेपाल बुद्धिजीवी परिषद् भक्तपुरले थिमिमा आयोजना गरेको परिषद्को मुखपत्र सौदामिनीको विमोचन गर्दै सुकुम्बासी आयोगको विषयलाई लिएर काँग्रेस र एमालेको विवादको स्मरण गर्दै उहाँले सो धारणा राख्नु भएको हो । नेपालमा लोकतन्त्र संस्थागत गर्न अझै १० वर्ष काँग्रेस, एमालेबीच सहकार्य हुनुपर्ने बताउँदै उहाँले यो समयमा उन्माद र उत्तेजना गर्न नहुने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “गत संविधानसभामा जनताले दिएको म्यान्डेडलाई हेर्ने हो भने पनि देशमा लोकतन्त्र संस्थागत गर्न, आर्थिक तथा सामाजिक विकास गर्न काँग्रेस, एमालेको सहकार्य १० वर्षसम्म हुनुपर्छ,” सरकारमा हुने सामान्य नियुक्तिका विषयलाई लिएर काँग्रेस, एमाले दुवैले विवाद निकाल्न नहुने उहाँको भनाइ थियो । केही दिनअघि तीन दलबीच भएको सहमति बेठिक भएको बताउँदै उहाँले भन्नुभयो, “द्वन्द्वकालमा माओवादीबाट सहिद भएकालाई जनही रु दुई लाख दिने र माओवादी जनसरकारमा हुँदा जनताबाट कब्जा गरेका घरजग्गा पास गर्ने सहमति गलत भएको छ, यस्तो सहमति हुनुभन्दा पहिला बृहत् छलफल गर्नु जरुरी थियो ।” उहाँले माओवादीका सहिद परिवारलाई दिने जनही रु दुई लाखले राज्यको रु दुई अर्ब ८० करोड खर्च हुने बताउँदै त्यो रकम उद्योग मन्त्रालयलाई दिने हो भने ५० हजार युवालाई तालिम दिएर प्रत्यक्ष रूपमा रोजगारी दिनसक्ने बताउनुभयो । पचास हजार युवालाई प्रत्येक वर्ष रोजगारी दिने योजना अर्थ मन्त्रालयमा पेस गर्न लागेको बताउँदै उहाँले अर्थमन्त्रालयले प्रस्ताव स्वीकार गरे उद्योग मन्त्रालयले रोगजारीको सिर्जना गर्ने मन्त्री बस्नेतले उल्लेख गर्नु भयो । परिषद्का अध्यक्ष प्रभुराम गेलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद् केदार सञ्जेलले माघ ८ गतेभित्र संविधान जारी गर्ने कार्यलाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो ।