निर्णायक वार्ताको तयारीमा राजनीतिक दलहरु, प्रधानमन्त्रीलाई पनि निम्तो


नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समिति सभापति भट्टराईले प्रधानमन्त्री कोइरालालाई संवाद समितिले आयोजना गर्न लागेको निर्णायक वार्तामा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको थियो ।  करिब ४५ मिनेट भएको भेटवार्ताका क्रममा सभापति भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि यही कात्तिक ४ र ५ गते निर्णायक वार्ताको आयोजना गरिएको जानकारी गराउँदै सहमति निर्माणका लागि भूमिका खेलिदिन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री कोइरालाले दलहरूका बीचमा सहमति निर्माणका लागि आफूले प्रधानमन्त्रीको रूपमा मात्र नभई आफ्नो पार्टीका तर्फबाट समेत पूर्ण सहयोगीको भूमिका निर्वाह गर्ने आश्वासन दिनुभयो ।  प्रधानमन्त्री कोइरालाले सबै दलको सहमतिका साथ आगामी माघ ८ मा संविधान जारी गर्न आफू निरन्तर सक्रिय रहेको स्मरण गराउँदै नयाँ संविधान जारी भएपछि आफू एक पल पनि सरकारमा नबस्ने बताउनुभएको थियो । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले संवाद समितिको सभापतिका रूपमा डा भट्टराईले सहमतिका लागि गरेको पहलको सराहना गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?