हिन्दू राष्ट्र माग गर्दै काँग्रेस नेता भट्टराई रिले अनशनमा


हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै छ महिनादेखि सुरु भएको रिले अनशनप्रति सहमति जनाउँदै नेपाली काँग्रेसका नेता हरिबोल भट्टराई अनशनमा सहभागी हुनुभएको छ । बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष र सनातन हिन्दू राष्ट्र नेपाल नागरिक सङ्घर्ष समितिका समेत अध्यक्ष रहनुभएका भट्टराई आज बिहान १० बजेदेखि २४ घन्टाका लागि रत्नपार्क शान्तिवाटिकामा अनशनमा रहनुभएको हो । कामपाका पूर्व नगरप्रमुख भट्टराईले नेपाल राष्ट्र स्थापना हुने बेलादेखि नै हिन्दू राष्ट्र रहँदै आएको हुँदा त्यसलाई कायम राख्नुपर्ने बताउँदै काँग्रेसले पनि पहिलेदेखि नै हिन्दू राष्ट्र अँगाल्दै आएको हुँदा त्यसका पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो । वैदिक सनातन हिन्दू राष्ट्र संयुक्त सङ्घर्ष समितिको अगुवाइमा सुरु गरिएको सो अनशनमा बस्नु भएका भट्टराईलाई भेट्नका निम्ति  काँग्रेसका नेता डा मिठाराम विश्वकर्मा र विश्व हिन्दू महासङ्घ नेपालका अध्यक्ष दामोदर गौतमलगायत पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?