एमाओवादी र मधेसवादी सहमतिमा नआए प्रक्रियाबाट संविधान जारी हुन्छ– अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले संविधान निर्माण गर्न लाग्छु भन्ने सर्तमा एमाओवादी अध्यक्षलाई राजनीतिक समितिको संयोजक बनाएको भन्दै अहिले उनी २२ दलका मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको धारणा राख्नु भयो । उहाँले सहमति नगर्ने किरिया खाएर एमाओवादी र मधेसवादी दलहरू बस्ने भए उनीहरूको आन्दोलनको सामना गर्दै प्रक्रियाबाट संविधान जारी गर्ने चेतावनी दिँदै संविधान निर्माणका बेला कसैले कसैलाई धम्की नदिन सुझाव दिनुभयो । अध्यक्ष ओलीले ८० प्रतिशत जनताले लोकतान्त्रिक संविधान निर्माणको लागि प्रतिनिधि चुनेर पठाइसकेको बताउँदै फेरि पनि दुई चार जना असफल नेताहरूले जनमतसङ्ग्रहको माग गर्नुको कुनै अर्थ नभएको स्पष्ट पार्नुभयो । उहाँले एमाओवादी र मधेसवादी दलले भनेजस्तो धेरै प्रदेशमा मुलुकलाई नटुक्राउने स्पष्ट पार्दै चार प्रदेशमा लगिने बताउनुभयो । आफू कोसी, राजधानी, गण्डकी र कर्णाली प्रदेशको पक्षमा रहेको बताउँदै सहमतिका लागि बढीमा छ प्रदेशसम्म जान सकिने तर एमाओवादी छ प्रदेशमा नआए चार प्रदेशमा आफूहरू फर्कने चेतावनी दिनुभयो । पार्टीभित्र माधवकुमार नेपाल र आफूबीच कुनै मतभेद नरहेको स्पष्ट पार्दै उहाँले महाधिवेशनको राप र ताप सेलाइसकेकाले अब एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।