काबुलमा बिस्फोट, चार सैनिकको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा मङ्लगबार तालिवान आतङ्ककारीले गराएको एक बम विस्फोटमा परी कम्तीमा चार अफगान सैनिकको मृत्यु भएको छ । सो विस्फोटमा सर्वसाधारण नागरिकसहित अन्य एकदर्जन व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन । अफगान सैनिकको एक बसलाई लक्ष्यगरी दुर नियन्त्रित यन्त्रद्धारा सडकको किनारमा राखेर सो बम विस्फोटन गराइएको जनाइएको छ । काबुलको पश्चिमीभागमा पर्ने आका अलि साममा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ६ः४५ गराइएका सो विस्फोटनमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य ६ जना सर्वसाधारणसहित १२ नागरिक घाइते भएका अफगान गृह मन्त्रालयले जनाएको छ । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशले निर्णय गरिसकेका छन् । अफगानिस्तानमा सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाबललाई नै दिइएको छ । यसैकारण तालिवान आतङ्ककारी समूहले अफगान सुरक्षाबललाई लक्ष्य गरी बारम्बार शङ्खलाबद्ध रुपमा आक्रमण गर्ने गरेका छन् । अफगानिस्तानमा सन् २०१० मा एक लाख ३० हजार नेटो सैनिक तालिवानसँग युद्धरत रहेकामा हाल सो सङख्या ४१ हजारमा झरेको छ । त्यसमध्ये पनि २९ हजार अमेरिकी सैनिक रहेका छन् । आगामी वर्षपछि पनि ९ हजार आठ सय अमेरिकी सैनिक अफगानिस्तानमा बाँकी रहने गत महिना अमेरिका र अफगानिस्तानबीच भएको द्वीपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको थियो । अमेरिकी सैनिकले गरेको एक अनुमानअनुसार अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म तालिवान आतङ्ककारीको आक्रमणमा अफगान प्रहरी र सैनिकगरी सातदेखि ९ हजारसम्मको मृत्यु भएको छ ।