तीन दलको बैठक तिहारपछि, गोकर्णको रात चीसै भयो
नयाँ बन्ने संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयासका लागि गोकर्ण फरेस्ट रिसोर्ट पुगेका प्रमुख तीन दलका शीर्ष नेताहरू सहमति नजुटेपछि तिहारपछि बैठक बस्ने गरी बाहिरिएका छन् । राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीका विषयमा सहमति खोज्न नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरू हिजो मङ्गलबारदेखि गोकर्णमा निर्णायक छलफलमा जुटेका थिए । दुई दिनसम्म चलेको बैठकमा नेताहरूले यसअघिका आ–आफ्नै अडानहरू यथावत राखेपछि निष्कर्षहीन भएको बैठकलाई तिहारपछि जारी गर्ने भन्दै अपराह्न नेताहरू बैठकबाट बाहिरिएका थिए । बैठकमा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो । मङ्गलबारदेखि सुरु भएको बैठक आवासीय भनिए पनि केही नेता राति घर फर्केर आज बिहान पुनः बैठक स्थल पुग्नुभएको थियो ।
वरिष्ठ नेताहरू देउवा, भट्टराई, नेपाल र सिटौला रिसोर्टमै बास बस्नुभएको थियो । विवादित देखिएका उपरोक्त विषयमा सहमति जुटाउन यसअघि पनि यिनै प्रमुख तीन दलले विगत छ वर्षदेखि सयाँै पटक बैठक गरिसकेका छन् । विवादित विषयमा सहमति जुटाउन गठन भएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले उक्त विषयमा टुङ्गो लगाउन नसक्दा हालको संविधानसभाले समितिको म्याद तेस्रो पटकका लागि थप गरेको छ । संविधानसभाको हिजो मङ्गलबारको बैठकले संविधान बनाउन निर्धारण गरिएको आगामी माघ ८ गतेको समयसीमालाई प्रभावित नहुने गरी यही कात्तिक १५ गतेभित्र समितिलाई सहमति जुटाउन पुनः समय दिएको छ । विवादित विषयमध्ये पनि सबैभन्दा जटिल देखिएको सङ्घीयताको विषयमा काँग्रेस र एमाले भौगोलिक स्वरुप र सामथ्र्यका आधारमा सात प्रदेश हुनुपर्ने अडानमा रहेका छन् भने एमाओवादीलगायतका मधेसवादी दलहरू पहिचानका आधारमा कम्तीमा १० प्रदेश हुुनुपर्ने अडानमा रहेका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा भएको बैठकमा दुई दिनसम्म औपचारिक र अनौपचारिक, समूहगत र छुट्टाछुट्टै छलफलहरु भएका थिए । प्रमुख दलहरूका यस्तै अडानका कारण यसअघिको संविधानसभा पनि विवादित विषयहरुमा टुङ्गोमा नपुगी चार वर्षपछि विघटन हुन पुगेको थियो ।
तिहारलगत्तै कात्तिक ९ गते अर्को बैठक
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सहमतिका लागि अर्काे बैठक यही कात्तिक ९ गते बस्ने जानकारी दिनुभएको छ । दुई दिनसम्म चलेको बैठकले दलहरुबीच सकारात्मक वातावरण बनाएको बताउँदै समितिका सभापति भट्टराईले भन्नुभयो, “छलफलका क्रममा शीर्ष नेताहरुका बीचमा संविधानमा सहमति कायम हुन बा“की रहेका राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे गम्भीर ढङ्गले कुराकानी भयो ।” “फेरि पनि १२ बु“दे समझदारीदेखि यताका सहयात्रीहरुका बीचमा सहमति आवश्यक छ भन्ने बोध र प्रतिवद्धता सबैबाट व्यक्त भएको छ”, उहा“ले भन्नुभयो – तिहारभर सबैले आ–आफ्नो पार्टीमा सरसल्लाह गर्ने र तिहारको लगत्तै ९ गते फेरि बैठक बसेर यी विषयहरुलाई टुंगो लगाउने भन्ने सहमति भएको छ । “सबै विषयमा सहमति बन्न सकेको त छैन तर सबै दलहरुले आ–आफ्ना भनाइहरु खुला र स्पष्ट राखेकाले वातावरण सकारात्मक बनाएको छ,” उहाँले भन्नुभयो ।