सिंहदरबारमा रहेका कवाडी कारहरुको तत्काल व्यवस्थापन गर्न निर्देशन, मंसिर मसान्त सम्मको समय
व्यवस्थापिका–संसद अर्थ समितिले नेपालभरका सरकारी निकाय तथा सार्वजनिक संस्थानका सवारी साधान हस्तान्तरण, मर्मत वा लिलाम बिक्री गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिका सभापति प्रकाश ज्वालाले बैठकका निर्णयबारे जानकारी दिँदै यही कात्तिक मसान्तसम्म सिंहदरबारभित्र रहेका त्यस्ता सवारी साधानको विवरण सङ्कलन गरी आगामी मङ्सिर मसान्तभित्र ती साधान हस्तान्तरण, मर्मत वा लिलाम बिक्री गर्न निर्देश दिइएको उल्लेख गर्नुभयो । मङ्सिर मसान्तभित्र काठमाडौँ उपत्यकाभित्र रहेका त्यस्ता सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनको विवरण लिई फागुन मसान्तसम्ममा हस्तान्तरण, मर्मत वा बिक्री वितरण गर्न, उपत्यकाबाहिर रहेका सवारी साधानको विवरण माघ मसान्तसम्ममा लिइ आउँदो जेठ मसान्तसम्ममा बिक्री वितरण गर्न बैठकले निर्णय गरेको छ । त्यस्तै, दुर्घटना वा अन्य कारणले क्षतिग्रस्त भई काम नलाग्ने अवस्थाका सवारी साधन पनि मर्मत वा लिलाम प्रक्रिया अघि बढाउन सक्ने गरी ऐनमा संशोधन गर्न र त्यस्ता सवारी साधनको विवरण अध्यावधिक गरी यस समितिमा पठाउन निर्देशनमा भनिएको छ । सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीको वर्गीकरण गरी प्राथमिकताको आधारमा सवारी साधन उपलब्ध गराउन र त्यस्ता साधनको प्रयोगसम्बन्धी मापदण्ड तयार पार्न, सरकारी निकायमा नियुक्त हुने पदाधिकारीले सवारीसाधन अनुमतिपत्र लिएपछि मात्र नियुक्त गर्ने नीति अख्तियार गर्न, सुविधाका साधनको खरिद, मर्मत उपयोग र लिलामजस्ता कार्य केन्द्रीकृतरूपमा गर्न निर्देश गरिएको छ । यसैगरी, तोकिएका पदाधिकारीबाहेक अन्यलाई सवारीसाधन उपलब्ध नगराउन र अनाधिकृतरूपमा उपलब्ध गराइएका सवारीसाधनको विवरण यही कात्तिक मसान्तसम्म यस समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।