अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको अधिवेशनमा भाग लिई सञ्चार मन्त्री डा. रिजाल स्वदेश फिर्ता
दक्षिण कोरियामा भइरहेको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको अधिवेशनमा भाग लिई सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल स्वदेश फर्कनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा सञ्चार क्षेत्रलाई सस्तो र गुणस्तरीय बनाउनुका साथै विश्वका सम्पूर्ण नागरिकमा सञ्चारको सहज पहँुच पु¥याउने विषयमा केन्द्रित सो अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री डा. रिजालले सम्बोधन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको अधिवेशनमा भाग लिई स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग कुरा गर्दै मन्त्री रिजालले दूरसञ्चारको पूर्वाधार विकासमा सहयोगको आदानप्रदान तथा ग्रामीण दूरसञ्चार कोषको उपयोगबारे सम्मेलनमा आफ्ना धारणा राखेको बताउनुभयो । नियमन व्यवस्था बलियो बनाउन नियमनकारी निकायको क्षमता अभिवृद्धिका लागि विश्वभर मुलुकको नयाँ अनुभवको आदानप्रदान हुनुपर्छ भन्ने विषय पनि आफूले सम्मेलनमा उठाएको मन्त्री रिजालले जानकारी दिनुभयो । भ्रमण अवधिमा मन्त्री रिजालले दूरसञ्चारसम्बन्धी मन्त्रिस्तरीय बैठकमा भाग लिनुका साथै त्यहाँ तयार गरिएको सूचना प्रविधिलाई आगामी दिन कसरी अगाडि बढाउने भन्ने विषयको घोषणापत्रमा योगदान समेत गरेको बताउनुभयो । प्रत्येक चार वर्षमा हुने युनियनको सम्मेलनमा महासचिवको निर्वाचन भएको र अन्य पदमा पनि निर्वाचन हुने कार्यक्रम रहेको छ । सम्मेलनबाट नेपाललाई के उपलब्धि भयो भन्ने जिज्ञासामा मन्त्री रिजालले नेपालको ग्रामीण दूरसञ्चारका साथै सस्तो र गुणस्तरीय सञ्चार सेवाको विस्तारमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सम्मेलन सहयोगी भएको बताउनुभयो । सन् २०१५ सम्ममा विकासको सहस्राब्दी लक्ष्य हासिल गर्न आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास र गरिबी निवारणमा पनि सूचना–सञ्चारको प्रयोग महत्वपूर्ण हुने भएकाले अधिवेशनमा यसबारेमा व्यापक छलफल भएको थियो । तीन सातासम्म चल्ने उक्त सम्मेलनको पहिलो चरणमा मन्त्री रिजाल नेपालको प्रतिनिधित्व गर्दै एक सातापछि स्वदेश फर्किनु भएको हो । आगामी सोमबार सञ्चार सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा अर्काे टोली त्यसतर्फ जानेभएको छ ।