सहमति नभए दुई तिहाइबाट संविधान जारी गर्नुको विकल्प छैन : उपप्रम गौतम


bamdevउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति हुन नसके दुई तिहाइ बहुमतबाट संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले दलहरू सहमति गरेर नै अघि बढ्ने प्रयासमा रहेको र सहमति हुन नसकेको अवस्थामा दुई तिहाइबाट माघ ८ गतेभित्र संविधान जारी गर्नुको विकल्प नभएको उल्लेख गर्नु भयो । नेकपा(एमाले)का उपाध्यक्षसमेत रहनु भएका गृहमन्त्री गौतमले दलहरूले जनतासँग माघ ८ गते संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेकाले त्यसलाई जुनसुकै मूल्य चुकाएर भए पनि पूरा गर्नुपर्ने भन्दै एमाओवादी सहमतिमा पनि नआउने र प्रक्रियामा जान तयार नहुनु गम्भीर विषय बनेको छ भन्नुभयो । उहाँले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका संयोजक डा बाबुराम भट्टराई सहमति गर्न असफल भएको आरोपसमेत लगाउनुभयो । यसैबीच, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले दलहरूबीच सहमति नभए प्रक्रियाबाट भए पनि माघ ८ गतेभित्रै संविधान ल्याउनुपर्ने बताउनुभएको छ । देउसी भैलो कार्यक्रममा आज उहाँले विवादित विषयमा दलहरूबीच सहमतिको सम्भावनाको अन्त्यन्तै न्यून भएकाले प्रक्रियाबाट संविधान जारी गर्नुको विकल्प नभएको भन्दै दलहरूले दलगत अडान छाडेर लचकता अपनाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दलहरूबीच सहमतिको कुनै छाँटकाँट नदेखिएको भन्दै माघ ८ गतेभित्र संविधानको मस्यौदामात्रै भए पनि जारी गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले माघ ८ गतेभित्र निर्विकल्प रूपमा संविधान जारी गर्नुपर्ने बताउनुभयो । उहाँले सात प्रदेश बनाउनु सबैभन्दा उपयुक्त हुने भन्दै प्रदेशको विवादलाई प्रदेशसभाबाट टुङ्ग्याउन सकिने तर्क गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?