मापसेका कैदी हिरसतमै मरेपछि मानव अधिकार आयोगले थाल्यो अनुगमन
मोरङको इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा थुनुवाको मृत्यु भएको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । मादकपदार्थ सेवन गरेको आरोपमा कात्तिक ८ गते साँझ पक्राउ परेका सिजुवा–३ का मधु ताजपुरियाको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले आरोप लगाएपछि घटनाको आयोगको क्षेत्रीय कार्यालय विराटनगरले आज अनुगमन गरेको हो । प्रहरी यातनाबाट हिरासतमा रहेका थुनुवाको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले कात्तिक ८ गते इप्रका सिँजुवा घेराउ गरेका थिए । घटनाबाट उत्तेजित स्थानीय जनतासँग प्रहरीको झडपसमेत भएको थियो । स्थिति सामान्य बनाउन प्रहरीले नौ चरण अश्रु ग्यास र १२ चरण आकाशमा गोली चलाएको थियो । घटनामा ११ जना स्थानीय बासिन्दा र आठजना प्रहरी जवान घाइते भएका थिए । मादक पदार्थ सेवन गरेको अभियोगमा शुक्रबार दिउँसो ४ बजे मधुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि राति ८ बजे प्रहरीले मधुलाई कोसी अञ्चल अस्पताल लगेको थियो । मधुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । इप्रका सिँजुवाका निरीक्षक बाबुराम पोखरेलले थुनुवाको हिरासतमा मृत्यु नभएको दाबी गर्नुभयो । तर मृतक परिवार र स्थानीयवासीले चाहिँ मधुको प्रहरीको यातनाबाटै मृत्यु भएको जिकिर गरिरहेका छन् । मृतककी श्रीमती चिटी ताजपुरियाले प्रहरीको यातनाबाट श्रीमान्को मृत्यु भएको दाबी गर्नुभयो । उहाँले श्रीमान्लाई प्रहरीले अस्पताल लाने क्रममा नसोधेको र हिरासतमा कठोर अमानवीय यातना दिएको आरोप लगाउनुभयो । प्रहरीकै कुटाइले मधुको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । तर प्रशासन र मृतक परिवारबीच सहमति भएपछि परिवारले शव आइतबार बुझेर दाहसंस्कार गरेका छन् । प्रशासन र मृतक परिवारबीच किरिया खर्च रु ३० हजार दिने, घटनाको अनुसन्धान जारी राख्ने र जिल्लास्तरीय छानबिन समिति बनाउने सहमति भएको थियो । घटना संवेदनशील भएको पाइएकाले सूक्ष्म रूपले अनुसन्धान भइरहेको राष्ट्रि«य मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक कोषराज न्यौपानेले बताउनुभयो ।