आईएसविरुद्धको आक्रमणमा सहकार्य गर्ने योजनामा अमेरिका तथा रुसबीच कुनै सहमति जुट्न सकेन


russiaअमेरिका तथा रुसले संयुक्तरुपमा इस्लामिक स्टेट (आइएस्) का आतङ्ककारी गतिविधिविरुद्ध गुप्तचरी गर्ने र इराकी सरकारी सैनिकलाई विशेष तालिम प्रदान गर्नका लागि दक्ष सैनिक प्रशिक्षकहरु इराक पठाउने सम्बन्धमा केही समय अघिदेखि दुई राष्ट्रबीच चलिरहेको वार्तामा सहमति हुन नसकेको तथ्य रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताउनु भएको छ । स्थानीय टेलिभिजन प्रसारणलाई लाभरोभले दिनुभएको एक अन्तर्वार्तामा अमेरिका तथा रुसबीच उक्त सहकार्य योजना सम्बन्धमा कुनै सम्झौता नभएको समेत खुलासा गर्नु भएको छ । अमेरिकी विदेशमन्त्री जोन केरी र लाभरोभबीच गतः अक्टोबर १४ का दिन पेरिसमा भेटघाट र छलफल भएपछि आइएस तथा अन्य आतङ्ककारी गतिविधिविरुद्ध गुप्तचरी गर्न र विशेष तालिम प्रदान गर्नका लागि दक्ष सैनिक प्रशिक्षकहरु इराक पठाउने सम्बन्धमा अमेरिका तथा रुस संयुक्तरुपमा सहकार्य गर्न सहमत भएको भन्ने जोन केरीको वक्तव्यको जवाफमा लाभरोभले उक्त टिप्पणी गर्नु भएको जनाइएको छ । त्यस्तै रुसी इतार(तास न्यूज एजेन्सीलाई लाभरोभले दिनुभएको अन्तर्वार्तामा इराक, सिरिया वा अन्य कुनै निश्चित मुलुक वा क्षेत्रमा आतङ्कवाद विरुद्धलड्न वा सहकार्य गर्ने मात्र नभै मध्यपूर्व वा यतापट्टिको समग्र क्षेत्रबाटै आतङ्कवाद उन्मूलन गर्नमा रुसले जोड दिनेबताउनु भएको छ । आतङ्कबादविरुद्ध लड्नका लागि पहिला पनि दुई देशबीच उच्चस्तरिय समिति गठन भए तापनि गतवर्षको अगष्टमा रुसले अमेरिकी गुप्तचर एडवार्ड स्नोडेनलाई राजनीतिक शरण दिएको निहुंमा अमेरिकाले उक्त उच्चस्तरिय समिति र यसले पेश गरेका प्रतिवेदनलाई बेवास्ता गरेको समेत लाभरोभले आरोप लगाउनु भएको छ । युक्रेनको हालको सङ्कटबारे पनि सम्बोधन गर्दै रुसले युक्रेन सङ्कटप्रति गरेको व्यवहारका कारण पश्चिमी युरोपेली मुलुकहरुले रुसउपर विभिन्न खाले आर्थिक र राजनीतिक प्रतिबन्ध लगाएका र सो प्रतिबन्धहरु फुकूवा गरान रुसले कसैका सामु कहिल्यै हात नफैलाएको पनि लाभरोभले दाबी गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?