छठ पर्वका अवसरमा रानीपोखरीमा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरू
छठ पर्वको मुख्य तथा तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने बर्तालुको भिडसँगै रानीपोखरीमा राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालालगायत विभिन्नदलका शीर्ष नेताहरू पुगी अर्घ दिनुभएको छ । छठ पर्वको लागि बत्तिले झकिझकाउ बनेको रानीपोखरीमा राष्ट्रपति डा यादव, प्रधानमन्त्री कोइरालालगायत एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सभासद् तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रन्जित कर्णलगायतका नेताले शुभकामना दिँदै निर्धारित समयमै संविधान जारी हुनुपर्ने धारणा राख्नु भयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले छठ पर्व हिमाल, पहाड र तराईलाई जोड्ने पर्व भएको धारणा राख्दै सबै नेपालीले मुलुकमा शान्ति, विकास र स्थायित्व चाहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका उपलब्धिको संस्थागत रक्षाका लागि निर्धारित समय मै संविधान जारी हुनुपर्ने बताउँदै त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । छठ पर्वको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिन झण्डै चार सय व्रतालु भेला भएका थिए भने पूजामा करिब १० हजार सहभागी रहेको छठ पर्व मूल समारोह समितिका सचिव ध्रुवलालप्रसाद सहनीले राससलाई बताउनुभयो । व्रतालुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरेका छन् भने पूजाका लागि रानीपोखरीलाई सरसफाइ गरी बत्ति तथा ध्वजापताकाले सिङ्गारेर दुलही झै बनाइएको छ । छठको तयारीका लागि केही दिन अघिदेखि नै काठमाडौँका विभिन्न नदी, पोखरी र तलाउको सरसफाइ गरिएको थियो भने छठको व्रत लिएकाले सोही नदी पोखरीका बीचमा उभिएर अर्घ दिने परम्परा रहेको छ । विशेष गरी तराई–मधेसमा पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा रहेको छ । छठ पर्वको चौथो तथा अन्तिम दिन भोलि उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
कमलपोखरीमा पनि छठ पूजा यसैगरी राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा तथा प्रधानमन्त्री सुशील कोइरालाले कमलपोखरी पुगी आज साँझ छठको पूजा गर्नुभएको छ । कमलपोखरी छठ पूजा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति डा यादव तथा उपराष्ट्रपति झाले अस्ताउँदो सूर्यको पूजा गर्नुभएको हो । सोही कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, नेपाली काँग्रेसका नेता गगन थापालगायतको सहभागिता थियो । सर्वसाधारणले विधि विधानपूर्वक सूर्यको पूजा तथा भजन गाएका थिए । चार वर्षदेखि सो स्थानमा छठको पूजा गरिँदै आएको छ ।