प्रधानमन्त्रीले फोन गरेपछि खुशी साटे डाक्टर कुमुद धितालले अस्पतालका सहकर्मीहरुसँग
प्रधानमन्त्री सुशील कोइरालाले मृत मानिसको मुटु बिरामीमा प्रत्यारोपण गरी सफलता प्राप्त गर्नुभएका अस्ट्रेलियामा कार्यरत नेपाली डा. कुमुद धिताललाई फोन गरेर बधाई दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले चिकित्सा क्षेत्रमा नै अद्भुत मानिएको सो सफलता नेपाली चिकित्सकको प्रयासमा प्राप्त हुनु समस्त नेपाली र सिङ्गो राष्ट्रकै गर्वको विषय भएको बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले उहाँको सफलताले मुटुको खराबीको कारण जीवन गुमाउन पर्ने अवस्थामा रहेका संसारभरका मानिसमा पुनर्जीवनको आशा पलाएको बताउँदै आउँदा दिनमा उहाँलाई थप सफलता प्राप्त हुन सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । सेन्ट भिसेन्ट अस्पताल र भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युटको संयुक्त प्रयासमा मृत अर्थात् धड्कन बन्द भएको मुटुलाई पुनः सक्रिय पारी यन्त्रमा राखेर बिरामीमा प्रत्यारोपण गर्ने सफलता प्राप्त भएको थियो । यसैबीच डा. कुमुद धितालले नेपालमा यस सफलतालाई लिएर छाएको उत्साह र स्वयं प्रधानमन्त्रीले फोन गरी बधाई दिएको विषयमा आप्mनो अनुसन्धान टिमका सबै सदस्यहरुलाई जानकारी गराउँदै खुशी साट्नु भएको छ । केहीबेरअघि एमएनटीभीसँग कुरा गर्दै उहाँले भन्नुभयो, मैले आज विहान प्रधानमन्त्रीले फोन गरेर बधाई दिनुभएको र नेपालमा यस विषयमा आएको प्रतिक्रियाको बारेमा प्रत्यारोपण विभागमा रहेका सबै सहकर्मीहरुलाई जानकारी दिएँ ।