मेलबर्नमा नेपाल फेष्टिभल सुरु, पर्यटन र लगानीका विषयमा छलफल
नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करण सुरु भएको छ । मेलबर्नमा आज विहानबाटै गरिएको कार्यशाला गोष्ठीमा सहभागीहरुले नेपालमा कसरी लगानी भित्र्याउन सकिन्छ र नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको बजारको योगदान बढाउने उपायको बारेमा छलफल गरेका छन् । कार्यक्रमको पहिलो सत्र पर्यटन सम्बन्धमा केन्द्रित थियो । यस सत्रको अध्यक्षता एनआरएनए अध्यक्ष शेष घलेले गर्नुभएको थियो भने सहअध्यक्षता भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले गर्नुभएको थियो । फोटोग्राफर किभ हल्वेटले विश्वकै छानोको रुपमा रहेको सगरमाथासम्मको रोचक यात्रा र नेपाली अतिथि सत्कारको संस्कारका बारेमा फोटोग्राफीकै माध्यमबाट प्रस्तुत दिनुभएको थियो । यसपछि क्यापकोन अष्ट्रेलियाका अध्यक्ष डा. किरण थापाले हाउजिंग क्षेत्रको लगानीका विषयमा प्रस्तुति दिँदै अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालको पर्यटन क्षेत्रमा गर्नसक्ने योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।
यसैगरी, लगानी सम्बन्धी अर्को सत्रको अध्यक्षता अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले गर्नुभएको थियो भने सहअध्यक्षता साउथ अष्ट्रेलियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक धमलाले गर्नुभएको थियो । कार्यक्रममा नेपालमा गैरआवासीय नेपालीको लगानी विषयमा अध्यक्ष शेष घलेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । घलेको एमआईटी कम्पनीले भर्खरै काठमाडौंमा होटल काठमाडौं सेराटन सञ्चालनको निम्ति निर्माण थालेको छ । यसमा पूर्णविदेशी लगानी रहेको छ । यस्तै विदेशी लगानीको उदाहरणीय प्रोजेक्ट बनेको काठमाडौं हेटांैडा सुरुंग मार्गका विषयमा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुशकुमार जोशीले आफ्नो भनाईहरु राख्नुभएको थियो । उहाँले कर्मचारीतन्त्रमा केही अप्ठेरो रहेपनि समग्रमा काम गर्छु भन्नेहरुको लागि सहज वातावरण निर्माण गर्न सकिने उदाहरण आपूmहरुले प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रममा विकास र पर्यटनको निम्ति नेपाली सञ्चारमाध्यम अत्यन्तै सकारात्मक रहेको धारणा नेपाल टेलिभिजनका अध्यक्ष नीरविक्रम शाहले राख्नु भएको थियो । यस छलफलको समापन गर्दै भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले सबै कार्यपत्रहरुको विश्लेषण गर्दै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साँझ गाला डिनरको आयोजना गरिएको छ भने आइतबार नेपाल महोत्सवको औपचारिक उद्घाटन र प्रदर्शनी लगायत सांस्कृतिक कार्यक्रमहरु राखिएका छन् ।