जातीय पहिचान र अधिकार सुनिश्चित गराउन आन्दोलनको घोषणा, नेता भए पद्मरत्न तुलाधर
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले जातीय पहिचान एवम् हक अधिकार सुनिश्चित गराउन आन्दोलनको घोषणा गरेको छ । राजधानीमा आयोजित घोषणा सभामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका प्रवक्ता प्रा.डा. ओम गुरुङ्गले आन्दोलनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले नेपालका आदिवासी जनजातिहरु सदियौंदेखि राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, भाषिक, प्रशासनिक, कूटनीतिक, धार्मिक लगायतका क्षेत्रमा उत्पीडन, शोषण, दमन, थिचोमिचो , अन्याय, अत्याचार, विभेद र बहिष्करणमा पर्दै आएका कारण उनीहरुको अधिकार स्थापित गर्न आन्दोलनको विकल्प नभएको बताउनुभयो । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्यरत्न तुलाधरले जातीय पहिचान एवं हक – अधिकारहरु सुनिश्चित भएको संविधान निर्माणका लागि भिन्न दर्शन, विचार, आस्था, राजनीतिमा विविधता भए पनि सामुहिक लक्ष्य प्राप्तिका लागि सबैको एकतावद्ध सहयोग आवश्यक हुने बताउनुभयो । आन्दोलनले सार्वभौमिकता र राष्ट्रिय स्वाधिनताको रक्षा, एकल जातीय पहिचानसहितको संघीय संविधान, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता, आत्म निर्णयको अधिकार, अग्राधिकार, जातीय स्वशासन र स्वायत्ततासहितको प्रद्ेश(संघीय एकाइ) र विशेष संरचनाहरुको सुनिश्चितता, पूर्ण समानुपातिक समावेशी निर्वाचन, राज्यका सबै अङ्ग र तहहरुमा समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चिततालाई आफ्नो प्रतिवद्धता र लक्ष्यका रुपमा लिएको छ । कार्यक्रममा एनेकपा माओवादीका सचिव वर्षमान पूनले समाजका पीछडिएका वर्ग र समूदायका हक अधिकारलाई सुनिश्चित गर्नु आवश्यक भएको बताउनुभयो । नेकपा– माओवादीका सचिव देव गुरुङ्गले प्रत्येक आदिवासी जनजातिलाई आफ्नो पहिचानको अधिकार हुनुपर्छ भन्नु भयो । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ्गले अल्पसंख्यक आदिवासी जनजातिका पहिचानको मागलाई आगामी संविधानमा सुनिश्चित गरिनुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष डण्डु सेर्पाले नेपालमा चरणवद्ध रुपमा विभिन्न ऐतिहासिक आन्दोलनहरु भएपनि आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित हुन नसकेको धारणा राख्नु भयो । कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध विभिन्न सङ्घ संस्थाहरुका तर्फबाट आन्दोलनप्रति प्रतिवद्धता जनाइएको थियो ।