अधिकतम सहमति जुटाएर समयमै संविधान जारी गर्ने एमाले अध्यक्ष केपी ओलीको भनाई, विद्यार्थीलाई ढुक्क हुन आग्रह
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलबीच अधितकम सहमति जुटाएर भए पनि समयमै संविधान जारी गरिने बताउनुभएको छ । संयुक्त विद्यार्थी सङ्गठनले निर्धारित मितिमै संविधान जारी गर्नुपर्ने दबाब अभियानअन्तर्गत सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगी बुझाएको ध्यानाकर्षणपत्र लिँदै उहाँले माघ ८ भित्र वा त्यसभन्दा अगाडि नै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको बताउनुभयो । नेता ओलीले भन्नुभयो, “सङ्घीयता र शासकीय स्वरूपका विषयमा सकारात्मक सहमति भइरहेको छ, जति सक्दो थोरै प्रदेश बनाएर जानुपर्छ, माघ ८ भन्दा अगाडि नै विवादित विषयमा टुङ्गो लाग्छ ।” विद्यार्थी सङ्गठनका तर्फबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष किशोरविक्रम मल्ल, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछाने र अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष रमेश मल्लले समयमै संविधान जारी गराउनका लागि विद्यार्थी सङ्गठनले दबाबमूलक आन्दोलन जारी राख्ने बताउनुभयो । समयमै संविधान निर्माण गर्नुपर्ने, सवारी भाडावृद्वि वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्नेलगायत माग ध्यानाकर्षणपत्रमा उल्लेख छ । विद्यार्थी सङ्गठनले सोमबार समयमै संविधान जारी गर्नुपर्ने माग राखी सभाध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।