घुस्याहा टोलीको साथबाट थप ५१ लाख बरामद, शुक्रबार २१ लाख ४० हजार बरामद भएको थियो
घुस लिँदालिँदै शुक्रबार पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नासु हरिवंश कार्कीको अनुसन्धानका क्रममा थप रकम बरामद भएको छ । अनुसन्धानका क्रममा हिरासतमा रहेका नासु कार्कीको कपन–३ स्थित घरमा थप रकम रहेको र उनकी श्रीमती लक्ष्मी लम्साल कार्कीले अन्यत्रै लगी लुकाउन सक्ने सूचनाका आधारमा खटी गएको आयोगको टोलीले थप रकम बरामद गरेको हो । आयोगको टोलीले सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास परीक्षण कार्यालयमा कार्यरत नासु सुरेश थपलियाको सुकेधारास्थित घरबाट लुकाई छिपाई राखेको अवस्थामा आज ५१ लाख २०० रुपैयाँ बरामद गरेको छ । रकम बरामदसँगै नासु थपलिया र नासु कार्कीको श्रीमती लक्ष्मी लम्साल कार्कीलाई आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । शुक्रबारको रु २१ लाख ४० हजार र आजको रु ५१ लाख २०० गरी यो प्रकरणमा रु ७२ लाख ४० हजार २०० बरामद भएको आयोगले जानएको छ । नासु कार्कीसहित भन्सार एजेन्टहरू प्रेम अधिकारी र देवराज भट्टराई भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाइदिने भन्दै रु २१ लाख ४० हजार नगद घुस लिइरहेको अवस्थामा शुक्रबार पक्राउ परेका थिए । उनीहरूको साथबाट दुई गाडीसहित भन्सार कार्यालयका सवारी चालक पुरुषोत्तम थापालाई आयोगले नियन्त्रणमा लिएको थियो ।