सार्कमा आर्थिक अन्तरसम्बन्धको विकासमा जोड दिनु आवश्यक : डा भट्टराई
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्कलाई अगाडि बढाउन सदस्य राष्ट्रहरूले आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सोच्ने बेला आएको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को काठमाडाँैमा हुने १८आँै शिखर सम्मेलनको सिलसिलामा उहाँले भन्नुभयो, “एकअर्काप्रति सङ्कीर्ण विचार र स्वार्थ त्यागी समग्र विश्व र मानव जातिको हितलाई ध्यानमा राखेर सोच बनाउन आवश्यक छ ।” ‘‘दक्षिण एसियामा आर्थिक एवम् सामाजिक विकासको प्रचुर सम्भावना रहेको हुँदा शिखर सम्मेलनले त्यसको अधितम् सदुपयोग गर्न सक्ने ढङ्गबाट क्षेत्रीयस्तरमा नै विकास र समृद्धिलाई तीव्रता दिने मार्ग पहिचान गरी कार्ययोजना अघि बढाउन सक्नुपदर्छ’’, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो । राजनीतिक नेतृत्वको दूरदर्शी दृष्टिकोण र राजनीतिक विवादभन्दा माथि उठेर आर्थिक समृद्धिमा काम गर्न सक्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीले उपलब्ध स्रोत साधनको समयानुकूल उपयोग गर्न सक्यौँ भने यस क्षेत्रमा विकासको प्रशस्त सम्भावना रहेको कुरालाई नकार्न सकिँदैन ।” माल्दिभ्समा भएको १७आँै शिखर सम्मेलनमा नेपालको सरकार प्रमुखको हैसियतले भाग लिने र अनुभव हासिल गर्ने अवसर प्राप्त गर्नुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईले २१औँ शताब्दीको आरम्भसँगै देखापरेको भूमण्डलीकरणको प्रभाव र विज्ञान प्रविधिले समग्र विश्वलाई एकाकार तुल्याउँदै क्षेत्रीय संस्थाको विकासलाई तीव्रता दिएको धारणा राख्नुभयो । “हिमालदेखि समुद्रसम्मको भू–भाग ओगटेको दक्षिण एसियामा प्राकृतिक र मानवीय साधन स्रोतको प्रचुरता र विविधता छ, यसको समुचित प्रयोगका लागि दूरदृष्टि र इच्छाशक्ति भएको नेतृत्वको आवश्यकता छ,” उहाँले भन्नुभयो । “राजनीतिकरूपमा यस क्षेत्रका दुईवटा ठूला प्रतिस्पर्धी देशहरू भारत र पाकिस्तानको केही वैमनस्यताका कारणले सार्कले त्यति गति लिन नसकेको अवस्था हो, सार्कमा द्विपक्षीय कुरा नउठाउने भन्ने समझदारी एवम् सिद्धान्त छ तर ठूला देशबीचको सम्बन्ध सुधार नभएसम्म क्षेत्रीयस्तरमा पनि यसको विकासलाई प्रभावित गर्छ । “यथार्थमा जति कटु लागे पनि भारत र पाकिस्तानको सम्बन्ध नसुध्रिएसम्म साना देशले प्रयत्न गर्दैमा सार्कले प्रगति हासिल गर्न सक्दैन” – डा भट्टराईले भन्नुभयो । नेपाल आफँै सङ्क्रमणकालबाट गुज्रेको हुँदा शान्ति, समृद्धि र विकासका लागि प्रयत्न गरिरहको बताउँदै उहाँले भन्नुभयो, “सञ्चार र यातायातको सम्बन्धलाई जोड्ने नाराका साथ हिमालदेखि समुद्रसम्म जोड्ने गरी सूचना, सञ्चार, यातायात प्रणाली र आर्थिक विकासमा सार्क सम्मेलनमा जोड दिनुपर्छ ।” अन्य क्षेत्रीय सङ्गठनको दाँजोमा विकास र विस्तारको दृष्टिमा सार्क त्यति खरो उत्रन नसकेको स्वीकार्दै उहाँले सार्कभित्रको सञ्चार, सूचना र यातायातको विकासलाई अलि तीव्रता दिन सक्नुपर्छ भन्नुभयो । अन्तर्राष्ट्रियस्तरको सडक सञ्जाल र रेल सेवाका माध्यमबाट सार्क सदस्य मुलुकबीच यातायात सम्र्पक जोड्न सकिने सम्भावना रहेको र त्यसबाट एकअर्काे मुलुकमा पर्यटनको विस्तारका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै डा भट्टराईले हिमालय शृङ्खलादेखि सांस्कृतिक विविधता बोकेको नेपालले यसका माध्यमबाट निकै लाभ लिन सक्ने धारणा व्यक्त गर्नुभयो । “आर्थिक विकासको हिसाबले नेपालसँग जलसम्पदाको प्रचुर सम्भावना रहको तथा क्षेत्रीयस्तरबाट लगानी भित्र्याउन सक्दा उत्पादित बिजुली प्रसारण लाइनको विकास गरी अफगानिस्तान, भुटान र बङ्गालदेशसम्म विस्तार गर्न सक्छाँै । यसले नेपालको आर्थिक विकासको नयाँ ढोका खोल्दछ । सार्कले दक्षिण पूर्वी एसियाका ठूला अर्थतन्त्र भएका देश चीन र भारतको आर्थिक पूरकका रूपमा पनि भूमिका खेल्न सक्छ”, उहाँले भन्नुभयो । सार्क स्थापनाको उद्देश्य र भावनाअनुसार काम गर्नका लागि राजनीतिक नेतृत्वको इच्छाशक्तिको ठूलो आवश्यकता पर्ने बताउँदै डा भट्टराईले त्यसका लागि दुई पक्षीय प्रतिस्पर्धालाई भन्दा क्षेत्रीय सम्बन्ध विस्तारलाई जोड दिनुपर्नेमा आवश्यकता औँल्याउनुभयो । “खुला अर्थतन्त्रमा लगानीकर्ता आफ्ना पुँजी क्षेत्रीयस्तरमै परिचालन होस् भन्ने चाहन्छन्, नागरिकबीचको सांस्कृतिक आदानप्रदानले सम्बन्धलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्छ, विश्व मानचित्रमा मानवीय र प्राकृतिक साधनमा सार्क धनी छ, उदयीमान अर्थतन्त्र र राजनीतिक शक्तिका रूपमा चिनिएका चीन र अमेरिकाले सार्कप्रति इच्छा र चासो राख्नु स्वभाविक छ”, उहाँले भन्नुभयो । आर्थिक अन्तरसम्बन्धलाई हामीले पहिलो प्राथमिकता दिनुपर्छ, यसैमा हाम्रो हित हुनेछ, एउटै देशसँग बढी मात्रामा रहेका परनिर्भरता हटाउँदै क्षेत्रीयस्तरसम्म बढाउँदा वस्तुको आयात निर्यातलगायत जलविद्युत्को निर्यातलाई बङ्गलादेश, पाकिस्तानसम्म पु¥याउन सक्नुपर्दछ”, डा भट्टराईले भन्नुभयो । साफ्टाको अवधारणालाई प्रभावकारीरूपमा अघि बढाएर बन्द व्यापार, लगानी अभिवृद्वि गर्ने र सम्बन्धका विविध आयामलाई बढाउन सकिए सार्क समृद्धिको आधार बन्न सक्ने डा भट्टराईको निश्कर्ष रहेको छ ।