संविधान बनाएपछि राजनीतिक अस्थिरताको अन्त्य हुने प्रधानमन्त्री सुशील कोइरालाको विश्वास, त्यसपछि सम्बृद्धिको मार्गमा लैजानुपर्ने


sushilप्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबाटै राजनीतिक अस्थिरताको अन्त्य हुने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् पूर्व मन्त्री सिद्धराज ओझाको श्रद्धाञ्जलि सभामा उहाँले निर्धारित समयमा संविधान जारी गरी देशलाई समृद्धिको मार्गमा लैजानुपर्ने बताउनुभयो । संविधान निर्माणका लागि दलहरूबीच अधिकतम सहमतिको प्रयास भएको जानकारी गराउँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री कोइरालाले कसैको डर धम्कीबाट संविधान निर्माण प्रक्रिया नरोकिने उल्लेख गर्नु भयो । सहमति तथा सहकार्यका माध्यमबाट नेपालमा शान्ति प्रक्रियाको थालनी भएकामा जोड दिँदै उहाँले आफ्नातर्फबाट त्यही कुरालाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । इमान्दारिता र निष्ठाको राजनीतिलाई आफ्नो जीवनमा प्राथमिकता दिएका स्वर्गीय ओझाको जीवनीबाट धेरै कुरा सिक्न सकिने उहाँको भनाइ थियो । जारी संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनसके नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका ओझाप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सिद्धराज ओझाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि गरेको सङ्घर्ष नेपालको इतिहासमा जीवन्त रहिरहने बताउनुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली जनताको भावनाअनुरूप देशलाई लोकतान्त्रिक संविधान दिएर समृद्धिको मार्गमा अघि बढाउनुपर्र्ने धारणा राख्नु भयो । नेपाली काँग्रेस डोटी जिल्ला सभापति वीरबहादुर बलायर, नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारी र पारश ओझाले प्रत्येक राजनीतिकर्मीका लागि स्वर्गीय ओझा प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?