यमनी राष्ट्रपति पार्टी नेतृत्वबाट बर्खास्त
यमनी राष्ट्रपति अब्द्रबुह मनसुर हादीलाई शनिबार उहाँको दलको नेतृत्वबाट बर्खास्त गरिएको छ । उहाँले आफूपूर्वका राष्ट्रपति अली अब्दुल्लाह सालेहमाथि संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध खोजेको आरोप उहाँमाथि लगाइएको छ । जनरल पिपुल्स कङ्ग्रेसले पार्टीको उपाध्यक्ष तथा महासचिव पदका लागि दुई व्यक्ति नियुक्त गरेको छ । सन् २०१२ मा रक्तपातपूर्ण प्रदर्शनपछि सालेहलाई राजिनामा दिन बाध्य बनाइएपछि हादी उक्त पदमा पग्नुभएको हो । सालेह जीपीसीको प्रमुख रहनुभएको छ । यमनको ३०१ स्थानको संसदमा यस दलको २२५ स्थान रहेको छ । शुक्रबार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले सालेह तथा उहाँका दुई सिया विद्रोही कमान्डोमाथि प्रतिबन्ध लगाएको छ । उनीहरूले यस मुलुकमा शान्तिमा चुनौती दिएको आरोप लगाइएको छ । सालेहले हुथी विद्रोहीलाई समर्थन गरेको आरोप लगाइएको छ । सेप्टेम्बर महिनामा यस विद्रोही समूहले राजधानीमा विना अवरोध नियन्त्रण कायम गरेको थियो हाल उनीहरूले सानाको दक्षिणी भागमा रहेको तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेका छन् ।