विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख शाहलाई निलम्वन गर्न निर्देशन
थलोमा नै घुससहित पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख सुदिपचन्द्र शाहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलम्बन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले अर्थ मन्त्रालयलाई पत्र लेखी शाहलाई निलम्बन गर्न निर्देशन दिएको हो । पदमा रहिरहँदा शाहले आफूविरुद्धको प्रमाण लोप गर्न सक्ने भएकाले निलम्वनको निर्देशन दिइएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले घुस लिँदालिँदै शुक्रबार उक्त कार्यालयका नासु हरिवंश कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ पछि कार्कीले घुस वापतको रकम निमित्त प्रमुख शाहलाई बुझाइने बताएका थिए । शुक्रबार रु २१ लाख ४० हजार घुस लिँदालिँदै थलोमा नै उनीहरू पक्राउ परेका थिए । अनुसन्धानका क्रममा हिरासतमा रहेका नासु कार्कीको कपन–३ स्थित घरमा थप रकम रहेको र उनकी श्रीमती लक्ष्मी लम्साल कार्कीले भन्सारकै अर्का नासु सुरेश थपलियाको घरमा लगी लुकाउन खोज्दा सूचनाका आधारमा आयोगको टोलीले शनिबार नै रु ५१ लाख २०० नियन्त्रणमा लिएको थियो । सो रकम बरामदसँगै नासु थपलिया र निजकी श्रीमतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेको थियो । आयोगले कार्कीबाट सो प्रकरणमा रु ७२ लाख ४० हजार २०० बरामद गरेको थियो ।