बाटो खन्दा पहिरो खस्यो, स्काभेटर चालक घाइते, केही घरमा क्षति
मोटरबाटो खन्ने क्रममा पहिरो खस्दा जंकोटमा आइतबार एक व्यक्ति घाइते भएका छन् । रोल्पाको जंकोट हँुदै उत्तरी रोल्पाको कुरेली जोड्ने सडक खण्डअन्तर्गत मोटरबाटो खन्ने क्रममा जंकोट गाविसस्थित धापाल भिरमा पहिरो खस्दा स्काभेटर चालक दाङ पञ्चकुले गाविस वडा नं १ का बुद्धिराम सोती मगर घाइते भएका हुन् । दुवै खुट्टामा चोट लागेका मगरको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । पहिरोले स्काभेटरको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ । यसैबीच उक्त पहिरोले जंकोट–५ बामरुक गाउँका केही घरमा क्षति पुगेको छ । बामरुक गाउँका स्थानीयवासी रणवीर विकको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । यस अतिरिक्त चन्द्रबहादुर पुन मगर, लालमति पुन मगर, दुर्गाप्रसाद विकलगायतको घर तथा शौचालयमा पनि क्षति पुगेको स्थानीय शिक्षक धु्रवचन्द्र पुनले बताउनुभएको छ । उहाँका अनुसार पहिरो झरेको स्थानमा अझै पनि ढुङ्गा खसिरहेका छन् । उक्त स्थानमा अझै पनि पहिरो खस्न सक्ने भन्दै स्थानीय जनता त्रसित छन् । बाटो खन्ने क्रममा खसेको पहिरोले केही स्थानीयवासीको घरमा क्षति पु¥याएको र अझै पहिरो खस्ने सम्भावना रहेको भन्दै उक्त विषयमा सडक उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीयवासीबीच छलफल चलिरहेको छ ।