भारतका दसमध्ये छ पुरुषले आफ्नो जीवनसाथीमाथि हिंसा गरेको स्वीकार गरे
भारतका १० मध्ये छ पुरुषले आफ्नी पत्नी वा महिलामित्रमाथि हिंसा गरेको स्वीकार गरेका छन् र आर्थिक कठिनाइ भोगेका व्यक्तिले यस्तो हिँसा गर्ने सम्भावना बढी भएको सोमबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । मुलुकमा यस सम्बन्धमा गरिएको एक सर्वेक्षणमा भाग लिने ५२ प्रतिशत महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको शारीरिक, भावनात्मक वा यौनजन्य हिंसा भोगेको बताएका छन् । यस्तो हिंसामा उनीहरूलाई कुटिएको, हिकाईएको, घरमै बन्द गरिएको तथा जलाइएको देखिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व जनसङ्ख्या कोष तथा वासिङटनमा केन्द्रीय कार्यालय भएको इन्टरनेसनल सेन्टर फर रिसर्च अन विमनले यस अध्ययनमा गहन रूपमा पितृसत्तात्मक मुलुकमा महिलाले बढ्दो दरमा दुव्र्यवहार भोगिरहेको देखिएको जानकारी दिइएको छ । अध्ययनमा भारतमा महिलाले आफ्नो नजिकको साझेदारबाट उच्च रूपमा हिंसा भोग्ने गरेको देखिएको छ । पुरुषत्व, जीवनसाथीबाट हुने हिंसा तथा छोराको चाहना (म्यास्कुलिनिटी, इन्टिमेट पार्टनर भायलेन्स एण्ड सन प्रिफरेन्स) विषयक यस प्रतिवेदनमा कुनै पनि उमेर समूहका भए पनि गत १२ महिनामा आर्थिक तनाव भोगेका पुरुषले हिंसा गरेको देखिएको छ । पैँतीस वर्ष नाघेकाका शिक्षित महिला तथा पुरुषले कम हिंसा गर्ने वा भोग्ने गरेको देखिएको छ । भारतमा उच्च तहमा भएका बलात्कारका कारण महिलामाथि हुने हिंसात्मक व्यवहारप्रति सार्वजनिक क्रोध बढेको छ र त्यसका कारण त्यहाँ गहन सुरक्षा व्यवस्था गर्न खोजिएको छ । दिल्लीमा सन् २०१२ को डिसेम्बरमा २३ वर्षीया एक छात्रामाथि एक बसमा घातक सामूहिक बलात्कारले मुलुकभर व्यापक प्रदर्शन उत्पन्न गराएको थियो र त्यसका कारण त्यहाँ यौनजन्य अपराध गर्नेमाथि कडा कानुनको व्यवस्था गरिएको छ । कानुनी व्यवस्थाबीच पनि महिलामाथि डरलाग्दा हिंसा दैनिक पत्रिकाका मुख्य समाचार बनेका छन् । विषेशज्ञले युवकलाई लैङ्गिक समानता तथा सम्मानको विषयमा शिक्षा दिनुपर्ने बताएका छन् । यो अध्ययन भारतका सात राज्यका १८ देखि ४९ वर्ष समूहका नौ हजार पुरुष तथा तथा तीन हजार महिलामा गरिएको हो । आईसीआरडब्लुका क्षेत्रीय निर्देशक रवि वर्माले हिंसा तथा नराम्रा मान्यता अन्त्य गर्न समस्टीगत प्रयास हुनुपर्ने आफ्नो ब्लगमा बताउनुभएको छ । उहाँले बालकहरूमा पहिचानका अवधारणा स्थापना हुने समयमा स्वस्थ्य तथा अहिंसात्मक प्रकारको पुरुषत्वको विषयमा उनीहरूलाई शिक्षा दिइनुपर्ने बताउनुभएको छ ।