निन्फाको नयाँ कार्यसमिति, सपथग्रहण पनि गराइयो
आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलिया निन्फाको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चित्रबहादुर तुम्बाहाम्फे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाइएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अरुणकुमार तामांग, महासचिवमा आरके सिप्तुंखा, कोषाध्यक्षमा सुदीप गौचन, सूचना तथा सञ्चार सचिवमा लीलबहादुर गुरुंग, पब्लिक अफिसर तथा सांस्कृतिक सचिवमा समिर वान्तवा, सूचना तथा प्राविधिक सचिवमा आशिष लोहोरुंग रहनुभएको छ । यस्तै सदस्यहरुमा कर्ण राजवंशी, लक्ष्मण गुरुंग, शशी सुब्बा, योगेन्द्र राई रहनुभएको छ । नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई संस्थाका प्रमुख सल्लाहकार गणेश तामांगले सपथग्रहण गराउनुभएको थियो । पद तथा गोपनीयताको सपथ लिएपछि भएको छलफलले नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा चासो व्यक्त गर्दै संघीयतामा जाँदा पूर्ण पहिचानसहितको हुनुपर्ने, अन्तरिम संविधान अनुसार धर्मनिरपेक्षता कायम राख्नुपर्ने लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।