भारतीय प्रधानमन्त्रीले अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने
२८ वर्षपछि कुनै भारतीय प्रधानमन्त्री अष्ट्रेलियाको भ्रमणमा आउँदै छन् र उनले अष्ट्रेलियाको संसदलाई क्यानबेरामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस्तो भाग्यमानी प्रधानमन्त्री नरेन्द्र मोदी बन्न सफल भएका छन् । सुरुमा मेलबर्नको भ्रमण गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सिड्नीको भ्रमण गर्नुहुनेछ । मेलबर्नबाट विशेष ट्रेनमा उहाँ रातभरिको यात्रापछि सिड्नी आइपुग्ने कार्यक्रम छ । र, अलफोन्स एरिनामा करिब १६ हजार मानिसले उहाँको स्वागत गर्नेछन् । ईन्डियन अष्ट्रेलियन कम्युनिटी फाउण्डेसनका अश्विन बोराका अनुसार १६ हजार दर्शक क्षमता भएको आयोजनास्थलमा प्रवेश पाउनका निम्ति अहिलेसम्म २५ हजारभन्दा बढीले आवेदन दिएका छन् । तर, सीमित क्षमताका कारण पहिले ईच्छा व्यक्त गर्नेहरुले मात्रै प्रधानमन्त्री मोदीको कार्यक्रममा सहभागी हुन पाउने भएका छन् । अष्ट्रेलियामा रहेका भारतीय समूदाय मात्र होइन प्रधानमन्त्री मोदीको भ्रमणका निम्ति नेपाली समूदाय पनि सक्रियताका साथ लागेका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलनको पूर्वसन्ध्यामा यता आउन लाग्नुभएका भारतीय प्रधानमन्त्रीको सिड्नी कार्यक्रमका लागि एनआरएन अष्ट्रेलिया पनि रिसेप्सन पार्टनरमध्ये एक हो । यसका अध्यक्ष महेन्द्र ओलीले भन्नुभयो, ठूलै संख्यामा नेपाली प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी हुनेछ । क्षेत्रीय संगठनको अवधारणाका साथै नेपाल र भारतको अपूर्व सम्बन्धका कारणले समेत हामीले उहाँलाई सिड्नीमा स्वागत गर्ने कार्यक्रममा सहभागिता जनाउन लागेका हौं, ओलीको भनाई छ । अर्कोतर्फ, भारतीय समूदाय पनि निकै उत्साही बनेर प्रधानमन्त्री मोदीको भ्रमणका लागि जुटेको छ । सुरुमा औपचारिक कार्यक्रम मात्रै तय भएपनि यहाँका भारतीयहरुको उत्साहजनक तयारीका कारण भारतीय प्रधानमन्त्रीको कार्यालयले सिड्नीको कार्यक्रम थप गर्नुपरेको थियो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आपूm यस भ्रमणका निम्ति उत्साहित बनेको बताउनुभएको छ । नोभेम्बर १७ तारिखका दिन सिड्नीमा आयोजना गरिने कार्यक्रमका लागि यतिबेला तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि राजीव गान्धीले १९८६ मा अष्ट्रेलियाको भ्रमण गर्नुभएको थियो ।