के हुँदैछ नेकपा माओवादीमा ? फेरि फुटको अवस्थापछि विवाद सुल्झाउन केन्द्रीय समितिको विस्तारित बैठक हुँदै
नेकपा–माओवादीले पार्टीभित्र विवाद बढ्दै गएपछि आगामी मङ्सिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । पार्टी सचिव नेत्रविक्रम चन्दले पार्टीको जनविद्रोहको कार्यदिशा अपूर्ण रहेको भन्दै आवश्यकताअनुसार छापामार युद्धमा जानुपर्ने मत राख्दै पार्टी कार्यक्रम बहिस्कार गर्न थालेपछि सोबारे निर्णय गर्न माओवादीले विस्तारित बैठक बोलाएको हो । सचिव चन्दसहित उहाँका पक्षका खड्गबहादुर विश्वकर्माले पार्टीको सोमबार र मङ्गलबार बसेको पोलिटब्युरो बैठक बहिस्कार गर्नुभएको थियो । सचिव चन्दले आफ्नो पक्षका केन्द्रीय सदस्य र प्रत्येक जिल्लाबाट दुई जना प्रतिनिधि रहने गरी कात्तिक २६ गते छुट्टै भेला डाक्नुभएपछि पार्टी विभाजनको दिशातर्फ अगाडि बढको आँकलन गरिएको छ । पार्टीभित्र बढेको विवादका बीच बसेको माओवादीको पोलिटब्युरो बैठकले कात्तिक २९ गते केन्द्रीय समितिको बैठक र मङ्सिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक (केन्द्रीय सल्लाहकारहरू र बैकल्पिक केन्द्रीय सदस्यहरूसमेत) बस्नका लागि प्रस्ताव गर्ने निर्णय गरिएको अध्यक्ष मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मङ्सिर ४ गते संविधानसभाको विघटन गरी सर्वपक्षीय राजनीतिक सम्मेलनको माग गर्दै देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको छ । पश्चिम नेपाललगायत देशका विभिन्न भेगका बाढी पीडितलाई उचित राहत र निष्पक्ष पुनःवासको व्यवस्था गर्नुपर्ने, माथिल्लो कर्णाली र अरुण तेस्रो सम्झौताको खारेजीको माग माओवादीले राखेको छ ।