समितिको बैठक पुनः निष्कर्षविहीन, दलका आ–आफ्नै अडान, प्रस्तावलाई संविधानसभामा लगिदिन भट्टराईलाई काँग्रेस एमालेको आग्रह


????????????????????प्रमुख तीन राजनीतिक दल आ–आफ्ना कार्यसूचीमा टसको मस नभएपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउने प्रयत्न गरिए पनि कुनै पनि विषयमा सहमति हुन नसकेको हो । बैठकमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले आफूहरूले प्रस्तुत गरेको अवधारणालाई संविधानसभामा प्रस्तुत गरिदिन समितिका सभापति डा बाबुराम भट्टराई समक्ष आग्रह गरेका थिए । एकीकृत नेकपा(माओवादी), मधेसवादीलगायतका दलहरूले भने सहमतिको विकल्प नभएको भन्दै सत्तारुढ दलका तर्फबाट प्रस्तुत गरिएको प्रस्ताव सन्दर्भ सामग्रीको रूपमा मात्रै रहनुपर्ने धारणा राखेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति डा भट्टराईले विवादित विषयमा सहमति जुटाउन छलफल भए पनि कुनै पनि निष्कर्ष ननिस्केको बताउनुभयो । उहाँले काँग्रेस र एमालेले आग्रह गरेजस्तो संविधानसभामा प्रस्ताव लैजान पनि सहमतिको जरुरत रहेकाले प्रमुख दलका शीर्ष नेतालाई सहमति जुटाउन आग्रह गरेको जानकारी दिनुभयो । संविधानसभा व्यवस्थापिका–संसद् कार्य सञ्चालन नियमावलीअनुसार आफ्नो समितिलाई सहमतिकै आधारमा मात्रै अगाडि बढ्न पाउने व्यवस्था भएकाले सहमतिको कुनै विकल्प नभएको उहाँको कथन थियो । काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने बुधबार पुनः छलफल गरिने र संविधानसभामा आफूहरूको प्रस्ताव पेस गरिने जानकारी दिनुभयो । आफूहरू सहमतिको विरोधी नभएको भन्दै उहाँले विवादित विषयलाई प्रश्नावली बनाएर संविधानसभामा पठाएपछि पनि सहमतिको सम्भावना कायम नै रहने धारणा राख्नुभयो । समितिको बैठकमा सभासद्हरूले भने सहमतिको विपरीत प्रक्रियामा गए संविधान निर्माण प्रक्रियाले तार्किक निष्कर्ष नपाउने भन्दै विगतको सहमति र प्रतिवद्धताबाट बाहिर जान नहुनेमा शीर्ष नेताको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, खम्बुवान राष्ट्रिय मोर्चालगायतका दल सम्बद्ध सभासद्ले सहमतिमा नै संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन तथा विवाद बढाउन नहुने धारणा राख्नुभएको थियो । अनिश्चितकालका लागि स्थगित भएको समितिको बैठक लामो कसरतपछि आज बसेको हो ।
शीर्ष नेताहरूको संयन्त्र बनाउन आग्रह
समितिका सभापति भट्टराईले राजनीतिक गतिरोध अन्त्य गर्न संवाद समितिमा रहेका शीर्ष नेताहरूको मात्र एउटा संयन्त्र बनाउने, त्यही संयन्त्रले संविधानका अन्तरवस्तु र प्रक्रियाका विषयमा सहमति खोज्न प्रस्ताव गर्नुभएको छ । समितिको बैठक स्थगित गरेर अनौपचारिक छलफल गर्नुभएका उहाँले काँग्रेस, एमाले, एमाओवादी, राप्रपा, फोरम लोकतान्त्रिकलगायतका दलका शीर्ष नेताहरूस“ग सो प्रस्ताव गर्नुभएको हो । सभापति भट्टराईले आफ्नै कार्यकक्ष सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा यस्तो प्रस्ताव राख्नुभएको हो । तर सभापति भट्टराईको उक्त प्रस्तावमा काँग्रेसका नेताले असहमति जनाएपछि दलहरू बीचमा त्यस्तो सहमति हुन सकेन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?