चीनमा प्रवेशाज्ञा समस्यामा अमेरिकी पत्रकार जिम्मेवार भएको राष्ट्रपति सीको भनाइ
चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार एक विदेशी पत्रकारसँग पहिले नै तयार नगरिएको प्रश्नको उत्तर दिँदै अमेरिकी पत्रकारलाई प्रवेशाज्ञा नदिनुमा अमेरिकी समाचार संस्थाहरू आफैँ जिम्मेवार भएको बताउनुभएको छ । चिनियाँ नेताहरूको परिवारले सम्पत्ति थुपारेको भन्ने विषयमा अनुसन्धानमुलक समाचार लेखेको विरोधमा द न्यु योर्क टाइम्स तथा ब्लुमबर्गका समाचारदातालाई चीनमा आवासीय प्रवेशाज्ञा उपलब्ध नगराइएको भनी वासिङटनले चीनको आलोचना गरेको थियो । आफ्ना नेताहरूका विषयमा आलोचनात्मक समाचार प्रकाशन हुने विषयमा बेइजिङ अति नै संवेदनशील रहने गरेको बताइएको छ । चीनमा त्यसै पनि सूचनामा कडा नियन्त्रण राखिन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामासँग चिनियाँ समकक्षी सीको पत्रकार सम्मेलन चीनको सरकारी प्रसारण संस्था सीसीटीभी तथा अन्य च्यानलले प्रत्यक्ष रूपमा प्रसारण गरेका थिएनन् । चिनियाँ राष्ट्रपति सीले सार्वजनिक रूपमा निकै कम प्रश्न लिने गर्नुहुन्छ । चीनको संसदको वार्षिक बैठकपछि वर्षमा एकपटक गरिने पत्रकार सम्मेलनमा सोधिने प्रश्नका विषयमा पनि पहिले नै छलफल गरिन्छ । ग्रेट हल अफ पिपुलमा आयोजना गरिने कार्यक्रममा प्रश्न सोध्न दिइनुपर्छ भनी ह्वाइट हाउसले अडान लिएपछि दुबै पक्षलाई एक प्रश्न सोध्न अनुमति दिइएको थियो । अमेरिकीतर्फबाट प्रश्न सोध्न अनुमति न्यु योर्क टाइम्सलाई दिइयो । यसै पत्रिकाले तत्कालिन प्रधानमन्त्री वेन जियाबाओको परिवारको सम्पत्तिका विषयमा सन् २०१२ मा अनुसन्धानमुलक समाचार प्रकाशन गरेको थियो । त्यस वर्ष ब्लुमबर्गले यस्तै कार्य सीका नातेदारका विषयमा गरेको थियो । यसपछि यी दुबै समाचार संस्थाका वेबसाइटमा चीनमा अवरोध सिर्जना भएको छ । यी संस्थाका लागि काम गर्ने पत्रकारहरूलाई पनि प्रवेशाज्ञा दिइएन । यसै साता अमेरिका तथा चीनले पर्यटक, व्यापारी तथा विद्यार्थीलाई उपलब्ध गराइने प्रवेशाज्ञाको समय बढाउने सहमति गरेका छन् । पत्रकारहरूले अन्य प्रश्नका साथमा चीनमा समाचार संकलन गर्न चाहने विदेशी पत्रकारलाई पनि यस्तै प्रकारको प्रवेशाज्ञा दिने समय भएन भनी प्रश्न गरेका थिए । आरम्भमा चिनियाँ राष्ट्रपति सीले उक्त पत्रकारको प्रश्नलाई ध्यान दिनुभएको थिएन । अमेरिकी राष्ट्रपति ओबामापछि आफ्नो पालोमा चिनियाँ समकक्षी सीले भेला भएका चिनियाँ पत्रकारलाई प्रश्न गर्न आग्रह गर्नुभयो । यसको अन्त्यमा राष्ट्रपति सीले उक्त विषयमा बोल्नुभयो र आमसञ्चारले चिनियाँ कानुन तथा नियम पालना गर्नुपर्ने बताउनुभयो । ‘‘बाटोमा गाडी खराब भए हामीले ओर्लिएर समस्या कहाँ छ भनि हेर्नुपर्छ । जब एक विषेश विषयमा समस्या उत्पन्न हुन्छ त्यसमा कारण हुन्छन्’’, राष्ट्रपति सीले भन्नुभयो । ‘‘चिनियाँ भाषामा हामीसँग एउटा उखान छ । समस्या सिर्जना गर्ने पक्षले त्यसलाई समाधान गर्न सहयोग गर्नुपर्छ । त्यसैले हामीले कारण कहाँ छ भनी समस्या हेर्नुपर्छ’’, उहाँले भन्नुभयो । चिनियाँ नेताले यसरी प्रत्यक्ष रूपमा प्रश्नको उत्तर दिनुभयो । गत दुई वर्षमा टाइम्सका तीन पत्रकारलाई चीनमा बस्न अनुमति दिइएको छैन । चीनमा विदेशी पत्रकारहरूको क्लबले जनवरीमा यो अन्तर्राष्ट्रिय स्तरसँग मिल्दो नभएको बताएको छ । यस समूहले यस स्थितिमा प्रधानमन्त्री वेन जियाबाओ तथा उहाँका परिवारका विषयमा समाचार प्रकाशन गरेकोमा न्यु योर्क टाइम्सका पत्रकारलाई अधिकारीहरूले दण्डित गरेको निष्कर्षमा पुग्न कठिन नभएको धारणा राखेको छ ।