जी २० बैठकका लागि विश्वका शक्तिशाली नेताहरु ब्रिसबेनमा, सुरक्षा व्यवस्था अत्यन्तै कडा पारियो


brisbaneविश्वका शक्तिशाली नेताहरु जी २० बैठकका निम्ति ब्रिसबेन आउने क्रम चलिरहँदा यहाँ सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । दुई दिने सम्मेलनमा चीन, अमेरिका, रुस, भारत लगायतका देशका कार्यकारी प्रमुखहरु सहभागी बन्दैछन् । रोजगारी बृद्धि, करको छली गर्नेहरुको साझा खोजी र विश्व अर्थतन्त्रको सबलीकरण यस पटकका प्रमुख मुद्दा भएको प्रधानमन्त्री टोनी एबोटले जनाउनुभएको छ । युक्रेनका विषयमा रसियासँग बढ्दै गएको तनाव पनि यस बैठकको विषय हुनसक्ने भएपनि अभियानकर्ताहरुले भने वातावरणीय विषयलाई उठाउन जोड दिएका छन् । शुक्रबार उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने सार्वजनिक बिदा समेत दिइएको थियो । विभिन्न बाटोहरुमा अवरोध हुने भएका कारण यस्तो बिदा दिइएको अधिकारीहरुले बताएका छन् । सुरक्षाका निम्ति ६ हजार प्रहरी परिचालन गरिएको छ । यस्तै विभिन्न २७ समूहले विभिन्न विषयमा प्रदर्शन गर्ने तयारी गरेका छन् । ब्रिसबेन प्रहरीले यिनीहरुलाई भिन्दाभिन्दै ठाउँमा प्रदर्शन गर्ने अनुमति दिएको छ । बिहीबार सम्मेलनको पूर्वसन्ध्यामा करिब २ सय प्रदर्शनकारीहरुले आफ्नो टाउको समुद्रको बालुवामा लुकाएर सिड्नीको बोन्डी बीचमा सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुको माग यी शक्तिशाली राष्ट्रहरुले जलवायु परिवर्तनका विषयमा छलफल गर्नुपर्छ भनने हो । यस्तै केही व्यक्तिहरुले जी २० को बैठकमा आउनबाट रसियन राष्ट्रपति भ्लादमिर पुटिनलाई रोक्नुपर्ने बताएका थिए । किनकि उनी मलेसियन एयरलाईन्सको एमएच १७ विमान खसाल्ने क्रियाकलापमा संलग्न हुन् र यसमा ३८ जना अष्ट्रेलियनले समेत ज्यान गुमाएका थिए, प्रदर्शनकारीको माग छ । विश्वको दुई तिहाई जनसंख्यालाई प्रतिनिधित्व गर्ने जी २० समूहका सदस्य राष्ट्रहरुले समग्र विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेका छन् । विश्व उद्योगको ७५ प्रतिशत योगदान उनीहरुकै हुने गर्दछ । विश्व अर्थतन्त्रमा देखिएको घातक परिणाामलाई हल गर्ने उद्देश्यले सन् १९९९ मा यी राष्ट्रका वित्तिय मन्त्रीहरु भेला भएर सुरु भएको यो सम्मेलनको परम्परा यहाँसम्म आइपुग्दा देशका प्रमुख कार्यकारीहरु नै सम्मिलित भई मुख्यतः आर्थिक विषयमा छलफल केन्द्रित गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?