संविधान बन्न नदिने शक्ति क्रियाशील रहेको एमाले अध्यक्ष ओलीको भनाई


kp oliनेकपा (एमाले) का अध्यक्ष केपी ओलीले अहिले पनि नयाँ संविधान बन्न नदिने शक्ति क्रियाशील रहेकाले त्यस्ता पक्षसँग होसियार रहन आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसहितलाई आज पुनः पार्टी प्रवेश गराउन पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले साम्प्रदायिक विद्वेष निम्त्याएर स्वार्थसिद्ध गर्ने, राष्ट्रिय एकता खल्बल्याउने र निश्चित व्यक्तिका अहंकार र तुुष्टी मेटाउने प्रकारका प्रवृत्तिसँग होसियार रहन अपिल गर्दै निहुँ खोज्ने, अत्तो थाप्ने र समृद्धिलाई विथोल्न खोज्ने कार्य मञ्जुर नहुने बताउनुभएको हो । उहाँले एमाले माघ ८ गतेभित्र सबै जनतालाई समतामूलक अधिकार दिलाउने लोकतान्त्रिक संविधान जारी गराउन दृढ रहेको स्पष्ट गर्नुभयो । उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमतसहितको पार्टी बनाउने अभियानमा लाग्न आग्रह गर्दै नवप्रवेशीलाई हेलाँ होचो र भेदभाव नगर्ने विश्वास दिलाउनुभयो ।
स्थापित गतिशील र विचारक
अध्यक्ष ओलीले महानरपालिकाका पूर्व प्रमुख स्थापितलाई टीका र खादा लगाएर स्वागत गर्दै आफू प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको अध्यक्ष हुँदा महासचिव रहेर काम गरेदेखि नै नजिकबाट चिनेको भन्दै उहाँमा नयाँ विचार, गतिशीलता र रचनात्मक सोच रहेको चर्चा गर्नु भयो । स्थापितलाई ओलीसहित महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली, नेता शङ्कर पोखरेलगायतले स्वागत गर्नुभएको थियो । गत संविधानसभा निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्थापितले काठमाडौं क्षेत्र नं. ६ मा एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईले स्थापना गरेको सङ्घीय समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएको थियो । नेपाल प्रजा परिषद्का पनि अध्यक्ष रहिसकेका स्थापितले आफूलाई काम गर्ने अवसर चाहिएको बताउनुभयो । “म कागजको सिक्का होइन, चल्ने सिक्का हुँ, त्यही अनुसार प्रयोग गर्ने काम होस् । गुटबन्दीको सिकार भएर अवहेलनामा पर्नु नपरोस् ।” स्थापितसँगै चिकित्सक डा खेम नेपाल, डा मधुसुदन शर्मा, निरज खत्री, रञ्जना शर्मा, निलम थापालगायतका १६१ जना एमाले प्रवेश गर्नुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?