आज मंसिर कृष्ण चतुर्दशी, काठमाडौंस्थित पशुपतिनाथ मन्दिरलगायत विभिन्न शक्तिपीठमा शतबीज छर्दै बालाचतुर्दशी मनाइँदै
मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिलगायत विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ । नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ । बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गर्ने प्रचलन यहाँको अर्को विशिष्टता हो । बोलीचालीको भाषामा शतबीउ छर्ने भनिने शतबीजरोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन् । शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् । शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाउने गरिन्छ । परिवारका दिवङ्गत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थलीलगायत स्थानमा शतबीज छरिन्छ । अध्यक्ष गौतमका अनुसार मङ्सिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गर्छन् ।