क्रान्तिकारी भूमिसुधारलाई संविधानमा समावेश गर्न प्रयत्न गरिने प्रचण्डको प्रतिबद्धता
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भूमिहीन किसानलाई जमिन उपलब्ध गराउन आफ्नो पार्टी हदैसम्मको प्रयत्नशील रहेको बताउनुभएको छ । पशुपति वनकालीमा लामो समयदेखि अनशनरत भूमिहीन किसानलाई भेट्दै उहाँले जनयुद्धको समयदेखि नै आफ्नो पार्टीले उठाउँदै आएको क्रान्तिकारी भूमिसुधारको नारा नछाडिएको र नयाँ संविधानमा सो विषयलाई समावेश गर्न हदैसम्मको प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभयो । सीमित व्यक्तिको हातमा जमिन रहँदा अधिकांश भूमिहीनले जग्गा पाउन नसकेको र अपनत्व महसुस गर्न नसकेको उल्लेख गर्दै उहाँले अन्तरिम संविधानले व्यवस्था गरेकै प्रावधानलाई मात्रै लागू गर्ने हो भने समस्या समाधान हुने बताउनुभयो । सो अवसरमा अनशनरत भूमिहीन किसानले आफ्नो समस्या समाधानको पहल गरिदिन अध्यक्ष दाहालसँग माग गरेका थिए । भूमिअधिकार सरोकार मञ्चका प्रमुख जगत देउजाले लामो समयदेखि किसान अनसनमा बसे पनि सरकारी निकायले ध्यान नदिएको आरोप लगाउनुभयो ।