जेलबाट फर्किएपछि झन् बढी अपराधमा संलग्न हुने गिरोह प्रहरी नियन्त्रणमा, वन्यजन्तुको चोरी शिकारी गर्ने तीनजना पक्राउ
वन्यजन्तु चोरी सिकारीमा संलग्न तीनजना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । मोरङका विभिन्न सामुदायिक वनमा वन्यजन्तु चोरी सिकारी गर्ने मोरङ शनिश्चरे–८ का २७ वर्षीय सुरज कार्की र सोही ठाउँका २८ वर्षीय भुवन राई र भोगटेनी–१ का ४५ वर्षीय चन्द्रबहादुर राई पक्राउ परेका हुन् । सुरज र भुवनलाई इलाका प्रहरी कार्यालय पथरीले सिकार खेल्दै गरेको अवस्थामा मङ्सिर ३ गते दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । यसैगरी मङ्सिर १ गते मोरङ भोगटेनी–१ का पत्थरसिंह भनिने ४५ वर्षीय चन्द्रबहादुर राईलाई उनकै घरबाट एक थान भरुवा बन्दुक र खरखजानासहित इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको थियो । सबै आरोपीलाई खरखजाना ऐन, अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसअघि उत्तरी मोरङमा घना जङ्गल भएकाले वन्यजन्तु बँदेल, हरिण र खरायो, कालिजलगायत प्रशस्त पाइन्छन् । प्रहरीको उपस्थिति पातलो भएकाले चोरी सिकारी गर्नेले भरुवा बन्दुक बनाएर सिकारमा प्रयोग गर्ने गरेका छन् । यसैगरी, पूर्व क्षेत्रमा सङ्गठित रुपमा चोरी गर्ने एक कुख्यात चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज ३० गते झापा दमकस्थित अनलाइन कम्प्युटर पसलबाट २५ थान ल्यापटप, एक थान क्यामेरा र नगद रु २५ हजार र झापाकै विर्तामोडमा पनि २५ कात्तिकमा भद्रपुर रोडस्थित ट्रेडलिङ्क सप्लायर्सबाट ४१ थान कम्प्युटर र तीन थान क्यामेरा चोरी गर्ने सङ्गठित चोरको गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । शृङ्खलाबद्ध रुपमा एकैखाले चोरीका घटना हुन थालेपछि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहले सक्रियतापूर्वक विभिन्न स्थानबाट ११ जना कुख्यात चोरलाई खोजी गरी पक्राउ गरेको हो । पक्राउ परेका चोरले चोरीका सामान ओसार्न एम्बुलेन्सको प्रयोग गर्ने गरेका थिए । उनीहरूले पूर्वमा चोरेका समान पश्चिममा र पश्चिममा चोरेका सामान पूर्वमा एम्बुलेन्समा लुकाएर ल्याई बिक्री गर्ने गरेका थिए । पहिलेसँगै अपराध कर्म गरेर जेलमा बसेका अभियुक्तले झन सङ्गठित सञ्जाल बनाएर देशभरि नै चोरी गर्न थालेका थिए । तस्वीर सांकेतिक मात्र : Editor