विश्वका अति धनी अझै धनी बन्दै, शून्य दशमलब शून्यशून्य ४ प्रतिशतसँग विश्वकै १३ प्रतिशत धन


dollarविश्वका करिब ०.००४ प्रतिशत वयस्क जनसङ्ख्याले ३० हजार अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थुपारेको र यो विश्वको कूल सम्पत्तिको १३ प्रतिशत भएको हालै गरिएको र बिहीबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । स्विस बैङ्क युबीएस तथा विलासी उद्योगसम्बन्धी परामर्शदाता वेल्थ–एक्सले प्रकाशन गरेको यस अध्ययन प्रतिवेदनमा हाल नगद विश्वका अतिधनी व्यक्तिको स्वामित्वमा थुप्रनथालेको उल्लेख गरिएको छ । तीन करोड अमेरिकी डलरभन्दा माथि सम्पत्ति भएका व्यक्तिलाई प्रतिवेदनमा अति धनी व्यक्तिको रूपमा लिइएको छ र विश्वका दुई लाख ११ हजार २७५ व्यक्तिलाई यस्ता धनीको रूपमा लिइएको छ । यीमध्ये दुई हजार ३२५ व्यक्तिको सम्पत्ति एक अर्ब अमेरिकी डलरभन्दा बढी छ । गत वर्षको तुलनामा यस्ता व्यक्तिको सङ्ख्या छ प्रतिशत बढेको तर उनीहरूको सम्पत्ति सात प्रतिशत बढेको देखिएको छ । यसबीच धितोपत्र तथा अन्य सम्पत्तिको मूल्य विश्वको विभिन्न भागमा बढेको देखिएको थियो । सम्पत्ति सबैभन्दा बढी अर्ध अर्बपतिको बढेको देखिएको थियो । यस समूहमा आधादेखि एक अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको व्यक्तिलाई राखिएको थियो । प्रतिवेदनमा यस अवधिमा भू¬–राजनीतिक द्वन्द्व, सामाजिक–आर्थिक विरोध तथा परिवर्तनशील मुद्राबजारबीच पनि धितोपत्र बजारले राम्रो काम गरेको उल्लिखित छ । यसले व्यक्तिको सम्पत्ति बढेको र उनीहरूको उद्योगहरूमा प्रभाव पनि बढेको देखिएको छ । यसका कारण उनीहरूको सम्पत्ति व्यवस्थापन तथा विलासी उत्पादनको उपभोगमा पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी सम्पत्ति केही व्यक्तिमा केन्द्रित भएको अवस्थामा उनीहरूले विश्वको धितोपत्र बजार तथा कुनै विशेष उद्योगको धितोपत्र बजारमा ठूलो प्रभाव राख्ने गरेको प्रतिवेदनमा बताइएको छ । तीस हजार अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिको यस नियन्त्रणमा एक तिहाइभन्दा बढी धनी उत्तर अमेरिकामा बसोबास गर्छन् भने एक चौथाइभन्दा बढी युरोपमा बसोबास गर्छन् । यसको २३ प्रतिशत एसियामा बसोबास गर्छन् ।  यी धनीमध्ये ८७ प्रतिशत पुरुष छन् भने उनीहरूको औसत आयु ५९ वर्ष रहेको छ । उनीहरूमध्ये एक चौथाइ बैंकिङ क्षेत्रमा काम गर्छन् । तीमध्ये ६८ प्रतिशत आफैँ धनी भएका व्यक्ति छन् भने १३ प्रतिशतले पैत्रिक सम्पत्ति प्राप्त गरेका छन् । बाँकी यी दुई कुराका मिश्रणमा पर्छन् । अति धनी महिलाको औषत आयु ५७ वर्ष रहेको छ भने उनीहरू गैरनाफामूलक तथा सामाजिक क्षेत्रमा काम गर्छन् । अन्य क्षेत्रमा १९ प्रतिशत काम गर्छन् । यीमध्ये आधा पैत्रिक सम्पत्तिका कारण धनी भएका छन् भने एक तिहाई आफैँ धनी भएका हुन् । यस्ता धनी व्यक्तिको खर्च गर्ने स्थान पनि फरक फरक देखिएको एफ स्कट फिजगेराल्डले उल्लेख गर्नुभएको छ । औसतमा एक अतिधनी व्यक्तिले एक वर्षमा १० लाख अमेरिकी डलर विलासी वस्तु तथा सेवामा खर्च गर्छन् । कहिलेकाहीँ उनीहरूले विलासी वस्तु वा सेवामा गरेको खर्च उनीहरूको आवश्यकताका विषय पनि हुनसक्छन् । उदाहरणको रूपमा आफ्नै जेट विमान भएका अति धनी व्यक्तिले उक्त विमानलाई आफ्नो बिदाको समयमा मात्र नभई व्यापारिक प्रयोजनका लागि पनि प्रयोग गर्छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?